लमजुङमा फेरि पनि भूकम्प जान सक्छ, सतर्कता अपनाऔँ

- भूकम्प मापन केन्द्र भन्छ, ‘भूकम्पप्रति हामी सधैं सजग रहन जरुरी छ। भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिलेसम्म बनेको छैन। गइसकेपछि मात्र मापन गर्ने हो। ठूलो भूकम्प जान सक्छ कि सक्दैन भनेर भन्न सकिने अवस्था छैन।’


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङ जिल्लामा फेरि पनि पराकम्प जान सक्ने बताउँदै त्यहाँको स्थानीय वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्र आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान ५ : ४२ बजेदेखि राति १० ३९ बजेसम्म ४ म्याग्निच्युड भन्दा बढिको ३ पटक र ४ म्याग्निच्युडको २ पटक गइसकेको बताउँदै केन्द्रले अझै पराकम्प आउन सक्ने भन्दै त्यहाँ सजग रहन आग्रह गरेको हो।

एकैदिन बुधबार पटक पटक लमजुङ भुलभुलेलाई केन्द्र बनाएर भूकम्प गएको थियो। बुधबार बिहान ५ : ४२ बजे पहिलो पटक ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो।

लमजुङ, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, चितवन, काठमाण्डौँ, धादिङ र नुवाकोटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार बिहान ८ : १६ बजे ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको लगत्तै ८ : १७ बजे ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको १० मिनेटपछि ८ः २६ मा पुनः ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। बुधबार राति ९ : २३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको थियो। राति पुनः १० : ३९ बजे ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो। कास्कीको पोखरा लगायतका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो।

बुधबार बिहान, पहिलो पटक गएको भूकम्प निकै शक्तिशाली रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। जुन भूकम्पको धक्काले लमजुङमा २ सय घरमा क्षति पुगेको छ। भूकम्पले धेरै घर भत्किएको र चर्किएको छ। बेसीसहरका धेरै घरहरुमा क्षति पुगेको छ।

त्यस्तै, ६ जना घाइते भएका थिए। भूकम्पबाट घाइते हुनेहरुको हातखुट्टा लगायत टाउको र शरीरमा चोट लागेको थियो। भूकम्पका कारण हालसम्म त्यहाँ ज्यान भने कसैको पनि गएको छैन।

बेसीशहर नगरपालिका­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका­६ ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी र दोर्दी गाउँपालिका­७ का ८३ वर्षीय मंगलीकुमारी तामाङ र बेसीशहर नगरपालिका­८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ घाइते भएका थिए।

भूकम्पले दुई दिनको सुत्केरीसमेत घाइते छन्। दोर्दी गाउँपालिका–८ द्वार गाउँकी दुईदिने सुत्केरी २३ वर्षीया दिलमाया मगर घाइते बनेकी छन्। घर भत्केपछि दिलमाया टनेलमा बस्न बाध्य बनेकी छन्। उनी दुई दिनअघि मात्रै सुत्केरी भएर अस्पतालबाट घरमा आएकी थिइन्।

लमजुङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका छन्। बेसीसहर नगरपालिका–६ चनौटे गाउँका महेन्द्र गुरुङको घरमा डेरा गरी बसेकी मस्र्याङदी गाउँपालिका–६ घेर्मुकी ४० वर्षीया उमा गुरुङ घरको गा¥हो भत्किएर पुरिँदा घाइते भएकी छन्।

बेसीसहर नगरपालिका–११ रामचोक बेसीकी ८३ वर्षीया खुवकुमारी पाण्डेको घर भत्किँदा हातखुट्टामा चोट लागेर घाइते बनेकी छन्।

घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उपचारपश्चात् गोविन्द बाहेक सबै जना घर फिर्ता भएका छन्। गोविन्दको भने टाउकोमा चोट लागेकोले थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भूकम्पप्रति हामी सधैं सजग रहन जरुरी रहेको केन्द्रले बताएको छ। भूकम्प मापन केन्द्र भन्छ, ‘भूकम्पप्रति हामी सधैं सजग रहन जरुरी छ। भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिलेसम्म बनेको छैन। गइसकेपछि मापन गर्ने मात्र हो, त्यसैले ठूलो भूकम्प जान सक्छ कि सक्दैन भनेर भन्न सकिने अवस्था छैन।’

अहिलेको धक्का २०७२ सालकै महाभूकम्पका परकम्प भएको मापन केन्द्रले जनाएको छ। बुधबार लमजुङमा गएको मात्राको पराकम्प यसअघि पनि गइसकको केन्द्रले उल्लेख गरेको छ। केन्द्रका अनुसार पराकम्प अझै केही वर्ष गइरहन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।