पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापना गर्नका लागि समिति गठन भएको छ । नागरिक स्तरबाट आर्थिक संकलन गरेर बृहद अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समिति गठन भएको हो ।

गण्डकी प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि गठन गरिएको अक्सिजन प्लान्ट निर्माण समितिको कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष नारायण पौडेल रहेका छन् भने सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र सेलवेज डिपार्टमेन्टल स्टोर्स प्रालिका अध्यक्ष सुशीलमान प्रधानाङ्ग रहेका छन् । समितिको संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेका छन् ।
अक्सिजन प्लान्ट निर्माणलाई विधिसम्मत ढंगले अगाडि बढाउन समिति गठन गरिएको जनाइएको छ । यो समितिले अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग रकम जुटाउनुका साथै प्लान्ट स्थापना सम्बन्धी कार्य अघि बढाउने अध्यक्ष आनन्दराज बतासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
५ करोड लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुने र यो दैनिक १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने जनाइएको छ ।
प्लान्ट स्थापनाका लागि ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान सञ्चालन गरिदै आएको छ । जसमा हालसम्म ३ करोड ३३ लाख ६९ हजार ५१ रुपैयाँ घोषणा भइसकेको र त्यसमध्ये १ करोड ५१ लख ७ हजार ६ सय ४० रुपैयाँ जम्मा भइसकेको अभियानका मिडिया क्याम्पेनर दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्लान्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने उनले बताए । समितिले अक्सिजन प्लान्ट स्थापनाका लागि कम्पनी (भेण्डर) छनौट गर्दै प्लान्ट निर्धारित समयमा द्रुत मार्गबाट पारदर्शी रुपमा गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको जीवन बचाउने अभियानमा सहभागि हुन अपिल गरेको छ ।
अक्सिजन अभावमा नागरिकको ज्यान जान थालेपछि शुरु गरिएको यस अभियानबाट अक्सिजन प्लान्ट स्थापना भएमा अक्सिजनकै अभावमा कसैलेपनि जीवन गुमाउनुपर्ने छैन भन्ने अपेक्षा गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







