पोखरा । लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ ।
एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगनाले जानकारी दिए ।
पोखराको चिप्लेढुंगाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसंग सहकार्य गर्दै पोखराका विभिन्न चोकहरुमा स ञ्चालन गरिने ढुंगनाले बताए । उनले भने, ‘कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको परिस्थितिमा कोरोनाको चेन ब्रेकका लागि भन्दै जारी गरिएको निषेधज्ञाका कारण अलपत्र बटुवा, खाद्य अभावले अप्ठ्यारो अवस्थामा परेका परिवारलाई लक्षित गरि यो अभियान शुरु गरेका हौं ।’ बैंकमा हाल दैनिक भान्सामा प्रयोग गरिने दाल, चामल, तेल, नुन लगायतका खाद्य सामाग्री राखिएको छ ।
‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने नारासहित शुरु गरिएको अभियानको पहिलो दिन आज ११७ जनाले सेवा लिएको कार्यक्रम संयोजक मातृका पोखरेलले जानकारी दिए । हरेक दिन बिहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम पनि शुरु भएको उनले बताए ।
क्लवका सदस्यहरुबाट संकलन भएको एक लाख २० हजारबाट शुरु गरिएको अभियानमा बिग बजार शेल्स स्टोर चिप्लेढुंगाका सञ्चालक रतनबहादुर कार्कीले ५ हजार बराबरका सामाग्री सहयोग गरेका छन् । यस्तै नवलपुरको गैंडाकोटका पुष्पराज सापकोटाले ९० हजार बराबरको ५० बोरा चामल सहयोग प्राप्त भएको कार्यक्रमका सह–संयोजक श्यामकृष्ण रेग्मीले जानकारी दिए ।
कोरोना भाइरस महामारीका समयमा निषेधाज्ञाका कारण आफ्नो काममा फर्कन नपाई अप्ठ्यारो अवस्थामा परेका जो कोहीले पनि अभियानबाट सेवा लिन सक्ने क्लवका चिफ पीआरओ बलराम शर्माले बताए । उनले विषम परिस्थितीमा नागरिकलाई परेको असजिलो अवस्थामा सानै भएपनि सहयोग पुग्ने हिसावले अभियानको थालनी गरिएको हुँदा यसमा सबैबाट सकरात्मक सहयोगका लागि अपेक्षा राखिएको पनि बताए ।
सरकारद्वारा जारी गरिएका सबै स्वास्थ्य मापदण्डको पालना गर्दै थालिएको खाद्य बैंक अभियानमा जोडिनका लागि क्लवले आह्वान समेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







