बागलुङमा संक्रमण नघट्दा निषेधाज्ञामा कडाइ


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जिल्ला प्रहरी कार्यालय बागलुङले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सयबाट नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ।

प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, १ सय रुपैयाँ जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ। प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लंघन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक निषेधाज्ञा उल्लंघन गर्नेलाई १ सय रुपैयाँको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिएका छन्।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हवारीले बताएका छन्। बागलुङमा सक्रिय संक्रमितको संख्या नघट्नुमा निषेधाज्ञाको पालना नभएको भन्ने गुनासो आएपछि प्रहरी सक्रिय भएर लागेको छ। नक्कली पास बोक्ने, पासका आधारमा यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिनेलगायत निषेधाज्ञा उल्लंघनका घटनालाई ट्राफिक प्रहरीले निगरानी तथा सवारी नियम उल्लंघन र जाँचका साथै कारबाहीसमेत गरिरहेको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालयले पटक–पटक नियम उल्लंघन गर्नेबाट हालसम्म १ सय ७६ जनालाई कारबाही गरेको छ। सोबाट १७ हजार ६ सय राजश्व संकलन गरिएको छ। यस्तै नियम उल्लंघन गर्ने २ सय ३९ सवारी साधनबाट १ लाख ६० हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको सूचना अधिकारी हवारीले बताए।

विनामास्क हिँड्नेलाई १ सय रुपैयाँ, विनाकाम हिँड्नेलाई २ सय रुपैयाँ, अत्यावश्यक कामबाहेक मोटरसाइकल चलाउनेलाई २ हजार रुपैयाँ, अन्य सवारीलाई ५ हजार रुपैयाँ जरिवाना काट्ने नियमअनुसार १ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ। बागलुङमा कोरोना संक्रमणबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।