कोरोनाबाट पदकधारी बक्सर केसीको निधन


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

कोरोना भाइरस संक्रमणका कारण दक्षिण एसियाली खेलकुदका पदक विजेता बक्सिङ खेलाडी हरिबहादुर केसीको निधन भएको छ।

सागका २ संस्करणका पदकधारी उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिएका छन्।

४८ वर्षीय केसीलाई २ साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। सुरुको ४ दिन घरमै बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मेघा अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति गम्भीर बन्न थालेपछि मनमोहन अस्पताल रेफर गरिएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

फ्लाइवेट (५१ केजीमुनि तौल) समूहका ५ पटक राष्ट्रिय च्याम्पियन केसीले सन् १९९५ मा भारतको मद्रासमा भएको सातौं दक्षिण एसियाली खेलकुदमा काँस्य पदक जितेका थिए। त्यसको ४ वर्षपछि नेपालमै भएको आठौं साफमा उनले रजत पदक जितेका थिए। स्व. केसीका श्रीमती र २ छोरा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।