ओलम्पिक भिलेजमा भेटियो कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित




तस्बीरः एपी

टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ।

ओलम्पिकको मिति नजिकिदैँ गर्दा ओलम्पिक भिलेजमा खेलाडीहरु पुगिसकेका छन्।

बिडम्बनाको कुरा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ। टोकियो २०२० का सीइओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको बताएका छन्। उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न थिए। यद्यपि, उनले ती व्यक्तिको राष्ट्रियता खुलाउन मानेनन्।

यी व्यक्तिलाई अहिले भिलेजबाट हटाइएको छ। भिलेजमा हजारौं खेलाडी र पदाधिकारीहरु बसेका छन्। कोरोना भाइरस संक्रमण रोक्नका लागि भिलेजमा कडा मापदण्ड अपनाइएको छ।
‘यी व्यक्तिलाई अहिले होटलमा पठाइएको छ’ ओलम्पिक आयोजक कमिटीका प्रवक्ता मासा टाकायाले भनेका छन्।

कोरोना महामारी नफैलियोस् भन्नका लागि सक्दो उपायहरु अबलम्बन गरिएको आयोजक कमिटीका प्रमुख सेइको हासिमोतोले बताएका छन्। कोरोना महामारीका कारण गत वर्ष आयोजना हुनुपर्ने ओलम्पिक यस वर्षका लागि सरेको हो। २३ जुलाईमा ओलम्पिकको उद्घाटन हुने तालिका छ।

अगस्ट ८ सम्म ओलम्पिक खेलकुद चल्नेछ। त्यसपछि पारा ओलम्पिक सुरु हुनेछ। कोरोना भाइरस संक्रमण फैलिरहेका कारण जापानी जनताहरु ओलम्पिकलाई लिएर खासै उत्साहित छैनन्। बरु, ओलम्पिकमा सहभागी हुन आउने विदेशीहरुले संक्रमण फैलाउन सक्ने भय जापानीहरुमा रहेको छ।

एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।