सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ।

तनहुँमा कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभएपनि निजी तथा सामुदायिक विद्यालय संचालनमा आएका थिए।

यसबारेमा राससले सोमबार समाचार प्रकाशन गरेको थियो। प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुखलगायतको सहभागिता थियो। सहायक प्रमुख जिल्ला अधिकारी बरालले सीसीएमसीले निर्णय नगरेसम्म विद्यालय संचालन गर्न नपाइने बताए।

‘विद्यालय संचालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ,’ बरालले भने।

व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभएपनि कतिपय विद्यालयले आफूखुशी विद्यालय संचालन गरेको बताए।

‘विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय संचालकहरुले जानकारी गराउनुभएको छ। तर, हामीले खोल्ने अनुमति दिएका थिएनौँ,’ उनले भने, ‘कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौँ।’

तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ। तर, विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिकरूपमा कक्षा संचालन गरिरहेका थिए। जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ। यस्तो जोखिमकै बीचमा विद्यालय संचालनमा आएपछि बालबालिका झनै जोखिममा परेका थिए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।