मनाङ्मा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप


     रासस     
     श्रावण १९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् ।

अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए ।

मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार २०० रहेको बताएको थियो । अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउने नागरिकको सङ्ख्या चार हजार १९८ रहेको आचार्यले जानकारी दिए ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए । देशैभर खोपको अभाव रहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी लागेको पर्यटन व्यवसायी विनोद गुरुङ बताए ।

उनका अनुसार नागरिकले कोभिड–१९ को सङ्क्रमण जोखिममा खोप लगाउन पाएकोमा सुरक्षित महसुस गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।