अब विद्यार्थीलाई पनि खोप लगाइँदै


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्।

मन्त्री श्रेष्ठले ट्वीट गर्दै लेखेका छन्, ‘विश्वविद्यालयको परीक्षामा सहभागी हुने २० वर्ष माथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप दिने निर्णय भएको छ।’

गत सोमबार ५ विद्यार्थी संगठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए।

यो निर्णयसँगै मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप प्रदान गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।