स्वास्थ्य र गरिबीको नियति


     डा.किसन कोइराला    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




आज भन्दा ३५ वर्ष पहिले वि.सं. २०४१ सालमा नेपालीहरुको सरदर आयु ५० वर्ष थियो भने २०७६ सालको तथ्यांक अनुसार नेपालीहरुको सरदर आयु ७० वर्ष नाघेको छ । नेपालीहरुको स्वास्थ्यमा सुधार हुनुको प्रमुख कारण बालड मृत्युदरमा उल्लेखनिय प्रगति, दुर्गम भेगमा स्वास्थ्य चौकी लगायत अस्पतालको निमार्ण र आवश्यक जनशक्तिको उपलब्धता, स्वास्थ्य प्रबिधिमा सुधार आदि रहेका छन् ।
छोटो अवधिमा स्वास्थ्थ क्षेत्रमा उल्लेखनिय प्रगति गर्नका लागि सरकारी र पछि आएर निजि क्षेत्रको योगदान भएतापनि अझै पनि सुगम र दुर्गम भेगमा स्वास्थ्य स्तरको खाडल निकै गहिरो छ । उदाहरणका लागी नेपालको राजधानी काठमाण्डैंमा प्रत्यक एक लाख जनसंख्यामा ९८ जना डाक्टर उपलब्ध छन् भने दुर्गम भेगमा प्रत्यक एक लाख जनसंख्यामा जम्मा २.५ जना डाक्टर उपलब्ध छन् । त्यस्तै सरकारी र निजि अस्पतालको काम गर्ने तौरतरिकामा धेरै भिन्नता रहेको पाइन्छ । सरकारी साधन स्रोतको प्रयोग भएर पनि सरकारी अस्पताल अव्यवस्थित व्यवस्थापनले गर्दा अस्त व्यस्त वनेको छ । स्वास्थ्थ चौकी र अस्पतालमा तोकिएको दरबन्दी पदपुर्ति गरिएको छैन र कर्मचारीहरुलाई कार्यलयका औजारको अपन्नत्वबोध नगराइएकाले चरम लापरवाही भएका छन् । फलस्वरुप महङ्गा र आधुनिक उपकरण वेवारिशे अवस्थामा लथालिङ्ग परेका छन् । स्वास्थ्थ निकायहरु नियम–कानुन, निति–निर्देशिकामा चल्नु भन्दापनि राजनितिक दलका भागभण्डा र इसाराले चलेका छन् । शौचालयको त कुरै छाडौं, डस्टविनको फोहोर नउठाइएको हप्तौ भएर दुर्गन्ध आउन थाल्छ । अर्को तर्फ थोरै लगानी भएपनि निजि अस्पतालले स्वास्थ्य जनशक्ति र उपकरणको उच्चतम् प्रयोग गरि तुलनात्मक रुपमा व्यवस्थित कार्य गरेको पाइन्छ । विरामीको स्वास्थ्थ र सरसफाईमा केन्द्रित रहेर कार्य गर्ने हुदाँ प्राय विरामीहरु निजि अस्पतालमा गएर छिटो छरितो स्वास्थ्य लाभ लिन रुचाउन्छन् । तर निजि अस्पताल सेवा भन्दा पनि फाइदाका दृष्टिकोणले संचालन गरिने हुदाँ महङ्गो भई आर्थिक अवस्था कमजोर हुनेले सेवा लिन सक्दैनन् ।
हरेक समाजमा विभिन्न तहका मानिसहरु वसोवास गर्छन् । नेपाली समाजिक परिवेशमा पनि हुने खाने र गरि खाने वा पहुचँ हुने र पहुचँ नहुने मानिसहरु बसोबास गर्छन् । हुने खाने र पहुचँ हुने वर्गलाइ स्वास्थ्थ सम्बन्धि उपचार गर्न गराउन सहज होला तर गरि खाने र पहुचँ नहुने वर्गलाइ स्वास्थ्य सम्बन्धि उपचार गर्न गराउन मुस्किल पर्छ । नेपाल सरकारको सन् २०१८ को तथ्यांक अनुसार २१% नेपालीहरु गरिबीको रेखामुनी रहेका छन् । अर्थात तिनीहरुलाइ दैनिक दुई छाक खाना खान पनि गाह्रो रहेको छ । भोको पेटलाइ अन्न प्रदान गर्न नसक्ने शरिरले स्वास्थ्थलाइ केन्द्रमा राखेर उपचार गराउन सक्दैन । यसमाथी नेपालमा स्वास्थ्य उपचार यति महङ्गीसक्यो काम गरि खाने मानिसहरु अस्पताल जान हच्किन थालेका छन् । सामान्य उपचार गरे निको हुने रोगलाइ पालेर कष्टकर जीवन विताउन वाध्य छन् ।
उपचार गराउनका लागि निजी अस्पतालको तुलनामा सरकारी अस्पतालको सेवा सुविधा सस्तो भएतापनि अस्पतालको क्षमता र जनशक्तिको अभावले गर्दा गरिबीको रेखामुनी रहेका सबै नेपालीहरुलाई पुर्णरुपमा सरकारी अस्पतालबाट सेवा लिन प्राय असम्भव छ । सरकारी अस्पतालले सेवा प्रदान गर्न नभ्याउने र निजि अस्पतालमा जान आर्थिक क्षमताले नदिने गरीब नेपालीहरु उपचारका निम्ति कहाँ जाने ? पेट दुखे पटुका कस्ने र ज्वरो आए पानी पट्टी लगाउने कार्य कहिले सम्म गर्ने ? के गरिवीकै कारण आखाँ अगाडीको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नसकी छट्पटाइ मृत्युलाइ अगाल्नु पर्ने हो र ? के गरिवी कै कारण निको हुने रोगलाइ जीवनभर पीडाको रुपमा सहेर वस्नु पर्ने हो र ? प्रश्न सरल छन्, तर गम्भिर छन् । यस गम्भिरतालाइ वुझ्ने कस्ले र कहिले ?

(डा. किसन कोइराला नेलम्बो, नेपाल नामक एक गैर सरकारी संस्थामा कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । – सम्पादक)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।