फिलिपिन्समा आँधीहुरी : ४७ को मृत्यु, ६० जना बेपत्ता


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित




भीषण वर्षापछिको बाढीपहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ।

६० जनाभन्दा बढी बेपत्ता भएका छन्। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका ३ वटा सहर अधिक प्रभावित भएका छन्।

मुस्लिम मिन्डानाओ (बीएआरएमएम)को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकारमन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ। पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँचजनाले ज्यान गुमाएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन्।
कुसियोङमा ११ बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेको उनले बताए। कुसियोङका ६० जना हराइरहेका छन्।

मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन्। हालसम्म ७ हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

फिलिपिन्समा यो वर्षको बाढीपहिरोमा परी २४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

रासस/एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।