दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित




दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड हुँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ।

राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ७६ जना घाइते भएका छन्।

सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको संचार माध्यमहरुले उल्लेख गरेको छ। उक्त कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ।

दक्षिण कोरियाको अग्नि सेवाका अनुसार उक्त घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरीहरु छन्। २० वर्ष आसपासका व्यक्ति धेरैले उक्त घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारहरुमा जनाइएको छ।

साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण घटना भएको समाचारमा जनाइएको छ। कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको पनि समाचारहरुमा जनाइएको छ।

घटनालगत्तै राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि निर्देशन दिएका छन्। उक्त क्षेत्रमा उद्धार टोली खटिएको छ। सरकारी अधिकारीहरुका अनुसार २ जना विदेशीको ज्यान गएको पुष्टि भएको छ भने १५ जना घाइते भएका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।