उहलोविन भागदौडः १ सय ५४ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिवार राति यहाँ भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

गृह मन्त्रालयका अनुसार उक्त घटनामा २६ जना विदेशीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कोरियाली सरकारले शनिबारसम्म साताव्यापी राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति युन सुक येओले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

यसैबीच, कोरियाली प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ । प्रहरीको एक सय ६१ सदस्यीय कार्यदल बनाएर अनुसन्धान थालिएको गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । विशेषज्ञसहितको प्रहरी टोलीले भागदौड मच्चिएको स्थानमा जडित क्यामराले खिचेका दृश्य र सामाजिक सञ्जलामा सम्प्रेषण गरिएका भिडियोलाई विश्लेषण गरेर घटनाको छानबिन प्रारम्भ गरेको हो ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्थासहितको प्रणाली विकास गरिने प्रधानमन्त्री हान डकसुकले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।