पोखरामा पहिलोपटक मणिपालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’ सफल


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टि.ए.भि.आई.) सफल भएको छ । शनिबार पोखराको पोखरा मणिपाल शिक्षण अस्पतालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’सफल भएको हो ।
बरिष्ठ कार्डीयोलोजिस्ट डा.अमित कुमार चौरासिया, डा.नवराज पौडेल लगायतको टोलीले एओर्टीक भल्वको सफल प्रत्यारोपण गरेको हो । उनिहरुले ८६ वर्षिय कालिदास तिमिल्सीनाको मुटुमा झण्डै १ घण्टा ३० मिनेट लगाएर सफल ‘टि.ए.भि.आई.’ गरेका हुन् ।

‘आज गरेको प्रक्रियालाई हामी टि.ए.भि.आई. वा टि.ए.भि.आर. भन्ने गछौँ । यो भनेको ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसनररिप्लेसमेन्ट’ हो । मुटुको सबभन्दा मुख्य पाइपमा भल्व हुन्छ, बुवाको त्यो भल्व सुक्यो अथवा साँघुरो भयो भनौँ । जसले गर्दा मुटुका नसाहरुले राम्रोसँग ब्लड पाएन र ब्लड अगाडी जान गाह्रो भयो । जसले गर्दा थाक्ने, मुटु दुख्ने, सास फुल्ने, चक्कर लाउने लगायतका समस्या देखिन्छ ।’ डा.चौरासियाले भने ।
पछिल्लो समय उपचार प्रविधिले फड्को मारेको उल्लेख गर्दै उनि थप्छन् ‘पहिलो पहिले छाती खोलेर मुटुको शल्यक्रिया गरिन्थ्यो । पछि चाहिँ यो प्रक्रिया (टि ए भि आई) सुरु भएको हो । अहिले छाती नखोली खुट्टाबाटै रिप्लेसपेन्ट हुन्छ । भेन्टिलेटरमा पनि राख्दैनौँ । उहाँ अब भोलिदेखि नै हिँड्न थाल्नुहुन्छ । सर्जरी गराएको भए हप्तादिन अनिवार्य अस्पतालमै रहनुपथ्र्यो ।’

काठमाडौँका केही अस्पतालमा पनि यस सम्बन्धी उपचार गराइसकेको बताउँदै डा चौरसियाले काठमाडौँबाहिर भने पहिलोपटक भएको सुनाए । उनले भने,‘काठमाडौँमा पनि हामीले सुरु गरेको एक डेढ वर्ष अगाडी हो । महिना दिनअघि शहिद गङ्गालाल, मनमोहन अस्पतालमा हामीले यस्तो केस गरेका छौँ । ह्याम्सले पनि गरेको छ । काठमाडौँबाहिर यो पहिलोपटक हो ।’
उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा.नवराज पौडेलले पोखरामा पहिलोपटक टाभी (टि.ए.भि.आइ.) सफल भएकोमा सम्पूर्ण टिमलाई धन्यवाद दिए । उनि भन्छन्,‘उहाँलाई ओपन हार्ट सर्जरी गर्ने अवस्था थिएन त्यसैले यो टि.ए.भि.आई. प्रक्रिया थालेका हौँ । यो भनेको खुट्टाको नलीबाट तार हालेर भित्र भल्वमा लएर भल्व खुलाएर अर्को भल्व राखिदिएपछि सञ्चो हुने हो । हाम्रो सिनियर कार्डियोलोजिस्ट डा। अमित चौरासीयाको सहयोगमा काठमाडौँबाहिर पहिलोपटक यो कार्य गर्न सफल भएका छौँ ।’
मणिपाल शिक्षण अस्पालका निर्देशक डा.अभिषेक मास्केले मोफसलमा पहिलोपटक यस प्रकृतिको सफल उपचार हुनु पोखरा मात्रै नभई सम्पूर्ण प्रदेशवासीका लागि सुखद् खबर भएको बताए । उपचारमा संलग्न सम्पूर्ण कार्डीयोलोजि यूनिटलाई उनले धन्यवाद दिए ।
उपचार गराइएका ८६ वर्षिय तिमिल्सीनाका छोरा डा.बिश्वदिप तिमिल्सिना मणिपालमै कार्यरत सर्जन हुन् । मणिपालको क्याथ ल्याबलाई विश्वास गरेर नै बुवाको उपचारका लागि प्रक्रिया थालेको उनले सुनाए ।
डा.तिमिल्सीना भन्छन्,‘ यहाँको क्याथ ल्याबलाई पहिलेदेखि देखिराखेको हो । यहि क्याथ ल्याबलाई विश्वास गरेर प्रक्रिया सुरु गरियो । सफल हुँदा खुशी छु । आगामी दिनका लागि पनि अस्पताललाई शुभकामना छ । यहिको टिमसँग समन्वय गरेर हामी अघि बढ्यौँ । बुवालाई अहिले सिसियुमा सारिएको छ । अहिलेसम्म सबै राम्रो छ । समन्वय गरिदिनुहुने अस्पताल प्रशासन र उपचारमा संलग्न डाक्टरहरुलाई धन्यवाद अर्पण गर्दछु ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।