कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०८० मा प्रकाशित




बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध छ ।

निरन्तरको वर्षाले पहिरो झर्नेक्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध जारी रहेको हो । बागलुङ नगरपालिका–१० दबल्याङमा दुई दिनदेखि सडक अवरुद्ध भएको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो ।

दब्ल्याङहुँदै बलेवा कुश्मिसेरा जाने सडकसमेत गए रातिदेखि बन्द छ । वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

करिडोरको दब्ल्याङमा यही साउन २६ गतेदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जिल्ला सदरमुकामसँगको सडक सञ्जालबाट टुटेको छ ।

दबल्याङको पहाड गहिरिएर पहिरो गएका कारण बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र परेका छन् । यस्तै बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डे जाने सडकसमेत अवरुद्ध बनेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।