असोज ५ पोखरा । पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरेले पोखराको बजार क्षेत्रलाई पर्यटनको हब होईन भनेर दुस्प्रचार गरिएको गुनासो गरेका छन् ।
पृथ्वी होटल व्यवसायी समितिको एघारौं साधारण सभा तथा छैटौं अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनले पर्यटनको ठेकेदार भनौदाहरुले पोखरा बजार क्षेत्रलाई पर्यटनको हब होईन भनेर दुस्प्रचार गरेको आरोप लगाएका हुन् । पर्यटनको राजधानी भएरपनि पोखराको बजार क्षेत्र उपेक्षित हुनु र त्यसमाथिपनि पर्यटनको हब होईन भन्दै पर्यटन क्षेत्रकै अगुवाहरुले दुस्प्रचार गर्नु विडम्वना भएको उनले टिप्पणी गरे ।
अध्यक्ष निउरेले फेवा लेकसाईडलाई मात्रै पर्यटन क्षेत्र मान्नेहरुले अन्य ठाउँमा पर्यटनको विकास हुन नदिने प्रयास गरिरहेको आरोप लगाए । फेवा लेकसाईड मात्रै पर्यटन क्षेत्र होईन,उनले भने,‘फेवा लेकसाईड पोखरा र देशकै गहना हो । तर पर्यटनलाई फेवा लेकसाईडमा मात्रै केन्द्रीत गर्नु हुँदैन । पोखराको बजार क्षेत्रसँगै समग्र गण्डकीमै पर्यटनको विकास र बिस्तार गर्नुपर्छ ।’ यसो गरेमा मात्रै पर्यटनको विकाससँगै सबैको हित हुने उनको भनाई थियो । उनले पर्यटन ऐन परिमार्जन गरेर घरबाट कोहि खर्च गर्नेगरी बाहिर यात्रामा निस्कन्छ, खान्छ र बस्छ भने त्यो पर्यटक हुनेगरी परिभाषित गरिनुपर्नेमा जोड दिए । उनले अहिले पछिल्लो क्रममा वातावरणीय अध्ययन प्रतिवेदनको नाममा वातावरणीय मूल्याङ्कन अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएर पर्यटन क्षेत्रलाई दुःख दिने र झञ्झटिलो बनाउने प्रयास भइरहेको भन्दै सो प्रावधान हटाउनुपर्ने बताए ।
कार्यक्रममा पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले पर्यटकीय सेवा प्रदान गर्ने निकायहरुको सेवा र पर्यटकको आतिथ्यतामा मौलिकता झल्कनुपर्ने बताए । उनले मौलिक पहिचान कायम गर्न सकेको खण्डमा पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गरे । उनले भने“पर्यटकलाई सेवा प्रदान गर्दा व्यवसायीहरुले आफ्नो मौलिकतालाई प्रस्तुत गर्न सक्नुपर्दछ । पर्यटकको सेवा र सुरक्षाको सुनिश्चितता भएमा यस क्षेत्रको विकासले फड्को मार्न सक्दछ ।”
प्रमुख पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि पृथ्वी होटल व्यवसायी समिति लगायतका सबै संघ संस्थासँग सहकार्य गरेर अघि बढ्न बोर्ड तयार रहेको स्पष्ट पारे ।
होटल व्यवसायी महासंघ नेपालको वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले समयानुकुल पर्यटन ऐन ल्याउन सक्दा मात्र होटल व्यवसाय सहित पर्यटन क्षेत्रको विकास हुने बताए ।
गण्डकी प्रदेश होटल एशोसिएसनका अध्यक्ष अर्जुन चोखालले व्यवसायीको हित हुने गरी सरकारी निकायहरुले नीति तथा योजना बनाउन माग गरे ।
समितिका अध्यक्ष बालकृष्ण निउरेको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन समारोहमा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष यमनाथ पौडेल, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा लगायतले पर्यटन क्षेत्रको विकासका लागि होटल क्षेत्रको समयानुकुल परिर्वतन भएर सेवा सुविधामा सुधारको खाँचो रहेको औंल्याए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







