फाइल तस्विर ।
असोज १० स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ ।
आज बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृतावस्थामा भेटिएका थिए । करिब दुई सय २० को हाराहारीमा कालिज रहेकामा एक सय ९० वटालाई चितुवाले मारेको सञ्चालक न्यौपानेले बताए । “म र मेरी श्रीमती मिनाक्षी दाना खुवाउन फार्ममा पसेका थियौँ, अचानक कालिज मरेका र घाइते कालिज छट्पटाएको देख्दा अताल्लियौँ”, उनले भने, “श्रीमतीले झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन हामी बाहिर भाग्यौँ ।”
सित्मामा डेढ वर्ष पहिलेदेखि कालिजपालन गरिँदै आएको थियो । बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको न्यौपानेको भनाइ छ । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाढेर मारेको पाइएको छ ।
डिभिजन वन कार्यालय स्याङ्जा, नेपाल प्रहरी र स्थानीयले दिउँसो १ बजेसम्म होहल्ला गर्ने, माटो छर्किने र पासो थापेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । चितुवा फार्म नाइलको जाली च्यातिएको भेटिएपछि चितुवा भागेको आशङ्का गरिएको छ ।
न्यौपानले फार्ममा हालसम्म रु १७ लाख लगानी गरिसक्नुभएको छ । फार्म चार रोपनी जमिनमा फैलिएको छ । कालिज प्रतिवटा दुई हजार पाँच सय र अण्डा रु ५० देखि एक सयसम्ममा बिक्री हुँदै आएको थियो । स्याङ्जा, गुल्मी र पर्वतबाट कालिज किन्न यहाँ ग्राहक आउने गरेका थिए ।
वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताउनुभएका न्यौपानेले कालिजपालनतर्फ लाग्नुभएको थियो । जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजारलगायत स्थानमा कृषकले कालिजपालन गरेका छन् । कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलोे भएकाले माग धेरै छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







