एभरेष्टकर्मी श्रेष्ठ रेन्बो चिल्ड्रेन होम नेपालबाट सम्मानित


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८० मा प्रकाशित




पोखरा । रेन्बो चिल्ड्रेन होम नेपालले एभरेष्टकर्मी सन्देश श्रेष्ठलाई सम्मान गरेको छ । पोखरा लेकसाइडस्थित रेन्बो चिल्ड्रेन होम नेपालको वार्षिक साधरणसभा सामाजिक लेखाजोखा तथा सम्मान कार्यक्रमका अवसरमा श्रेष्ठलाई प्रमुख अतिथी गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी हुन् ।

कार्यक्रमको उद्धघाटन गर्दै सिम्खडाले बाल गृहमा बसेका तर पहिचान नखुलेका बालबालिकालाई समय पुगेपछि नागरिकता दिन सहज गराउनुपर्ने बताएकी छन् ।

उनले घेरै बालबालिकाहरु हुर्किएपछि नागरिकता लगायतका कागज नभएको कारण उनी धेरै सुविधाबाट बञ्चित हुनुपरेको धारणा राखिन् । उनले आफूले नागरिकता सहज दिलाउने व्यवस्थाका लागि सरकारसँग पहल गर्ने जानकारी पनि दिइन् ।

मन्त्री सिम्खडाले संस्था चलाउन धेरै चुनौती रहेको स्पष्ट पार्दै चिल्ड्रेन होमले समाजमा उत्कृष्ट कार्य गरेको भन्दै धन्यवाद दिइन् ।

पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय तहको तर्फबाट संस्थाका गतिविधिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बाल गृहबाट असल नागरिक उत्पादन भएको जनाउँदै उनीहरुलाई समाजमा स्थापित गर्न राज्यले ठोस पहल लिनुपर्ने बताए ।

त्यस अवसरमा नमूना आमा समूह अध्यक्ष जुना अधिकारी, नमुना आमा समूहको पूर्व अध्यक्ष मिठुदेवी अधिकारी, बालगृहकी दिपा खत्री लगायतले पनि भनाई राखे । कार्यक्रमका बीच श्रेष्ठ सहित एसइई उत्तीर्ण गर्ने तथा उच्च शिक्षा पास भएका सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।