आर्थिक मन्दिको असर भगवान बस्ने मन्दिरमा पनि


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८० मा प्रकाशित




पोखरा । विश्व नै अहिले आर्थिक मन्दिको चपेटामा छ । नेपाल यसबाट अछुतो छैन । मानिसको क्रय शक्ति घटेको छ । तर आयश्रोत भने घटेको छ । यहि आर्थिक मन्दिका कारण आम मानिसको जनजीवन प्रभावित छ । मन्दिको असर यतिसम्म छ कि आम मानिसको प्रति व्यक्ति आय घटेको छ ।

मन्दिको असर मान्छेमा मात्रै सिमित छैन । यसको असर यत्र, तत्र, सर्वत्र पर्न थालेको छ । अरु त अरु, आर्थिक मन्दिको असर भगवान बस्ने मन्दिरमापनि पर्न थालेको छ । भगवान बस्ने मन्दिरलाई पवित्र मानिन्छ । त्यहि भएर मानिसहरु त्यहाँ पुजा गर्छन् । फूलअक्षतासँगै द्रव्य अर्थात भेटी चढाउँछन् । तर अहिले त्यहि भेटीपनि मान्छेले कम चढाउन थालेको पाइएको छ । मन्दिको असरसँगै पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिरको भेटीपनि आधा कम भएको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । उनका अनुसार मन्दिरमा पहिले दैनिक एक लाख भन्दा बढी भेटी संकलन हुन्थ्यो ।

तर अहिले त्यो घटेर ५०÷६० हजारमा झरेको उनको भनाई छ । ‘मन्दिरको भेटी हामी आफैले उठाउन थालेपनि आश्चर्यजनक ढंगबाट भेटी संकलन भयो । त्यसबेला दैनिक एक लाख भन्दा बढी भेटी संकलन हुन्थ्यो । तर अहिले पहिलेभन्दा झण्डै आधा घटेको छ । कहिलेकाहिं एक लाखसम्मपनि भेटी संकलन हुन्छ तर औसत ५०÷६० हजार नै हो’–उनले भने ।

भेटी घट्नुमा मन्दि प्रमुख कारण भएको सदस्य सचिव श्रेष्ठले बताए । आम मानिसको आयश्रोत घटेको छ,उनले भने,‘सायद त्यसको असर मन्दिरमा पनि परेको होला ।’ मन्दिरमा दर्शनार्थी कम हुनु र कोभिडपछि मन्दिरमा आउने दर्शनार्थीले चढाउने भेटीको रकम पहिले भन्दा घट्दा भेटी घटेको उनको भनाई छ ।

भेटी घटेसँगै मन्दिरको खर्च व्यवस्थापनमा असर परेको श्रेष्ठले बताए । १४ जना पूजारीसहित करीब ६० जना कर्मचारी रहेको मन्दिरमा अहिले उनीहरुलाई तलब खुवाउन मुश्किल हुने गरेको उनको भनाई छ । त्यसबाहेक मन्दिरमा गरिने विभिन्न पुजा अर्चना, मन्दिर सौन्दर्यकरणसँगै नया पूर्वाधार निर्माणमापनि त्यहि पैसा खर्च गर्दा अहिले खर्च धान्न धौ धौ परेको उनले बताए । उनका अनुसार अहिले मन्दिरको कमाई मासिक १५ लाखको हाराहारीमा छ । तर खर्च भने २३ लाख हुनेगरेको उनले बताए । मन्दिरको खर्च १५ लाख भएपनि हालैमात्र सञ्चालनमा आएको विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयको मासिक ८ लाख खर्च आउने उनले जानकारी दिए ।

मन्दिरले आयश्रोत बढाउन धार्मिक पर्यटक भित्राउनका लागि विभिन्न योजनासँगै कार्यक्रम गर्ने गरेको छ । तर पर्यटन सम्बद्ध संघसंस्था तथा स्वयम् नेपाल पर्यटन बोर्डलेसमेत विन्ध्यबासिनी मन्दिरलाई पर्यटकीय केन्द्र मानेर सहकार्य नगरेको उनको गुनासो छ । आन्तरिक र भारतीय पर्यटक अत्यन्त धेरै मात्रामा विन्ध्यबासिनी मन्दिर आउँछन्,उनले भने,‘तर संघ सरकार, प्रदेश सरकार होस् वा पर्यटन वोर्डको नीतिमा धार्मिक पर्यटन पर्दैन । त्यसैले उनीहरुले हामीलाई कहिल्यै पर्यटन सम्बन्धि कार्यक्रममा हामीलाई बोलाउँदैनन् ।’ तर सरकारसँग हार गुहार गरेर भएपनि खर्च धान्दै आएको उनले प्रष्ट्याए ।

विन्ध्यबासिनी मन्दिरले विन्ध्यबासिनी प्राकृतिक चिकित्सालय हालसालै सञ्चालनमा ल्याएको छ । तर यो पूर्ण रुपले सञ्चालनमा आइसकेको छैन । त्यहि भएर यसको आर्थिक भारपनि मन्दिरमै रहेको उनले बताए । त्यसबाहेक समितिले विन्ध्यबासिनी गुरुकुल विद्याश्रम, निःशुल्क एम्वुलेन्स सेवा, विन्ध्यबासिनी मन्दिरमा लिफ्ट सञ्चालन गरी असक्त, अपाङ्गता भएका तथा बृद्धबृद्धाहरुलाई निःशुल्क सेवा, दैनिक योग साधना, विन्ध्यबासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनलगायतका कार्यहरु गर्दै आएको छ ।

विन्ध्यबासिनीमा नवदुर्गा महोत्सव हुने

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज २८ गते घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यबासिनी मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन पोखरामा एक साथ विभिन्न जातिका वेशभुषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय र धार्मिक एकता प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ । घटनास्थापनाको दिन विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु भएको शोभायात्रा सहरका विभिन्न भागको परिक्रमा गरि पुनः मन्दिरमै पुगेर समापन हुनेछ ।

मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने श्रेष्ठले जानकारी दिए । महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरिशरण पौडेलबाट संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथा प्रस्तुत गर्ने समितिका कार्यवाहक अध्यक्ष सुर्यप्रसाद सुवेदीले जानकारी दिए ।

त्यसपछि दैनिक रुपमा महानवमीसम्मै श्रीमददेवी भागवतको कथा प्रस्तुत हुने उनले बताए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म कथा प्रवचन हुने सुवेदीले बताए ।

मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।