व्यापार मेला : ६ करोडको कारोबार


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित




मंसिर २८ पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला ८८ हजार जनाले अवलोकन गरेको र करिब ६ करोड १५ लाखभन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ ।

आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मंसिर २१ गते समुद्घाटन भएको मेलामा महिलाहरु सहभागिता बढी भएको पनि बताए । ‘समुद्घाटनकै दिन पोखराका हजारौं महिलाहरुले प्रभाफेरीसहित मेलामा सहभागिता जनाउनुभयो,दैनिक रुपले हुने महिला सहभागिता लोभलाग्दो छ,’उनले भने,‘शुक्रबार र शनिबार अवलोकनकर्ताको चाप बढ्ने हामीले विश्वास लिएका छौँ ।’

संघका महासचिव बलराम आचार्यले मेलाअन्तर्गतको सांस्कृतिक कार्यक्रममा पनि उल्लेख्य सहभागिता रहेको जिकिर गरे । ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुतिलाई सहभागीले रुचाएको उनको भनाइ थियो ।

‘हुन त हाम्रो मुख्य उद्धेश्य उद्यमशीलता सिकाउनु नै हो, त्यो काम हामीले स्टलमार्फत् गरिहेका छौं, सहभागीहरुलाई थप मनोरञ्जन दिलाउने उपक्रममा सांगीतिक कार्यक्रम समावेश गरिएको हो । बिहीबार चर्चित लोकदोहोरी गायक राजु परियारसहितको प्रस्तुति रहेको र शुक्रबार सहिमा श्रेष्ठ,ऋतु कँडेल,अस्मिता डल्लाकोटी,घनश्याम लामिछाने, प्रिन्स लम्साल लगायतका कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।

संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेलामा रहेका स्टलहरुबाट किनमेल पनि राम्रै भएको प्रतिक्रिया दिए । ‘मेलामा बिक्रीमा राखिएका सामग्रीहरुमा विशेष छुट प्रदान गरिएको छ, अवलोकनका लागि आउनेहरु खालीहात जाने अवस्था छैन,’उनले भने । गाडी र स्कुटरलगायत ठूलो कारोबार पनि ठूलै भएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।