पुस १ पोखरा । पोखरामा तीन प्रकारको अटो भिलेज बनाउने तयारी भएको छ । पोखरा महानगरपालिकाले पोखरामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेको साना सवारी र चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको गरेर तीन प्रकारको अटो भिलेज बनाउने योजना बनाएको हो ।
यी अटो भिलेज छुट्टाछुट्टै ठाउँमा बनाउने महानगरको योजना रहेको अटोमेकानिकल वक्र्स एशोसियसन कास्की र पोखरा टेलिभिजनको संयुक्त आयोजनामा आइतबार पोखरामा भएको ‘पोखरामा अटोल्याण्ड : आवश्यक्ता, सम्भावना र चुनौति’ विषयक अन्र्तक्रिया कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए ।
पोखरामा हाल बजारमा अस्तव्यस्त तरिकाले अटो वक्र्स सपहरु सञ्चालनमा छन् । व्यस्त बजारमा असरल्ल वक्र्ससप हुँदा पोखराको सौन्दर्यतामा ह्रास आएको, धुवाँ, धुलो र पानीका कारण पोखरा फोहोर र दुर्गन्धित बनेको तथा यसका कारण डेंगी संक्रमणपनि बढेको जनगुनासो छ । त्यतिमात्र होईन पछिल्लो क्रममा पोखरा अन्र्तराष्ट्रिय विमानस्थल प्रवेश र वहिर्गमन द्वार अगाडिदेखि पोखराको कोर सिटी छिर्नेसम्मको क्षेत्रमा जथाभावी वक्र्ससपहरु सञ्चालनमा हुँदा पोखरा कुरुप देखिदै आएको छ । महानगरले यीनै अस्तव्यस्त वक्र्ससपहरुलाई एकत्रित गरेर अटो भिलेज निर्माण गर्ने योजना अगाडि सारेको हो ।
महानगरले दुई पाङ्ग्रे अटो भिलेजपनि पोखराका फरक/फरक तीन ठाउँमा बनाउने योजना बनाएको छ । पोखराको कोर सिटी क्षेत्रलाई केन्द्रीत गरेर महानगरले पोखरा र लेखनाथका विभिन्न क्षेत्रमा ८ भन्दा बढी फरक/फरक ठाउँमा दुई पाङ्ग्रे अटो भिलेज बनाउने तयारी गरेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए । यस अटो भिलेजमा मोटरसाईकल, स्कुटर र साईकलको मर्मतसम्भार गरिनेछ ।
चार पाङ्ग्रे तर साना तथा मझौला सवारी साधनका लागि तीन वटा छुट्टै अटो भिलेज निर्माण गर्ने महानगरको तयारी छ । जहाँ मिनि ट्रक, ट्याक्सी, कार, टोयोटा, अटोलगायतका सवारी साधनको मर्मतसम्भार गरिनेछ । पोखरा भित्रिने तीन मुख्य नाकाहरु उत्तर पश्चिममा याम्दी, पूर्वमा अमरसिंह र दक्षिणमा छोरेपाटन क्षेत्रलाई केन्द्रीत गरेर तीन फरक ठाउँमा अटोभिलेज निर्माण गरिने मेयर आचार्यले बताए । उनले कोर बजार क्षेत्रलाई लक्षित गरेर हाललाई चाईना पुल माथिको क्षेत्रमा छुट्टै अटो भिलेज बनाउने प्रयास भइरहेको उल्लेख गरे ।
चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको अटो भिलेज भने एउटा निर्माण गरिनेछ । जुन नया निर्माण गर्ने भनिएको प्रदेश स्तरीय पोखरा बसपार्क नजिकै निर्माण गर्ने महानगरको योजना छ । प्रदेश स्तरीय बसपार्क पोखरा–३२ लामेआहालमा निर्माण गर्ने तयारी छ । सोहि क्षेत्र नजिक चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको अटो भिलेज निर्माण गरिने मेयर आचार्यको भनाई छ । जहाँ बस, ट्रक, ट्रयाङ्कर र ठूला हेभी ईक्यूपमेन्टहरु डोजर, रोलरलगायतका ठूला (हेभी) गाडीहरुको मर्मतसम्भार हुनेछन् ।
महानगरले दुई पाङ्ग्रे अटो भिलेजका लागि कम्तिमा चार रोपनी तथा चार पाङ्ग्रे तर साना सवारी साधनको अटो भिलेजका लागि १० रोपनी भन्दा बढी जग्गा चाहिने मापदण्ड तोकेको छ । तर त्यो ठाउँ पर्खालले घेरिएको हुनुपर्ने मापदण्ड बनाइएको मेयर आचार्यले बताए । उनले भने,‘तपाईंहरुले आफैले खोजेपनि हुन्छ त्यस्तो ठाउँ । त्यसका लागि हामी सिफारिस र आवश्यक सहयोग गर्छौं ।’ उनले वक्र्ससप व्यवसाय भएकाले व्यवसायीहरु नै मिलेरपनि अटो भिलेज निर्माण गर्न सक्ने बताए । अन्यथा महानगर आफैलेपनि बनाएर दिने भन्दै उनले भने,‘तपाईंहरुले बनाउने हो भने पानी, वत्ती के चाहिन्छ हामी सहयोग गर्छौं, होईन हामीले बनाएर दिने हो भने लागतचाहिं तपाईंहरुले बेहोर्नुपर्छ ।’
अटो भिलेज निर्माण गर्नका लागि महानगरले अहिले जग्गा प्राप्तीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । अटो भिलेज निर्माण गर्ने ठाउँको पहिचान भएपनि अहिल्यै सार्वजनिक गर्दा स्थानियको विरोधको सामना गर्नुपर्ने भयले महानगरले यसलाई गोप्य राखेको बताएको छ । मेयर आचार्य भन्छन्,‘अहिल्यै भन्दा कुरा बिग्रिन्छ । तर अटो भिलेजको स्थान लगभग टुंगिएर जग्गा प्राप्तीको प्रक्रियामा छ ।’ वक्र्ससप बनाउने जमिन खरिद गर्न सक्ने अवस्था नरहेकाले सार्वजनिक जग्गा नै खोज्नुपर्ने बाध्यतामा महानगर रहेको उनले प्रष्ट्याए । ‘पहिला जग्गा प्राप्ती होस् त्यसपछि कुन मोडलमा निर्माण गर्ने हो त्यसबारे छलफल गरौंला’–उनले भने ।
महानगरले अटो मेकानिकल वक्र्स सपहरुलाई हालको ठाउँमा नवीकरण नगर्न आग्रह गरेको छ । अटो भिलेज बनाएर वक्र्स सपहरु सार्ने तयारी भएकाले हालको ठाउँमा सञ्चालन गर्न दिन नसकिने भएकाले अबदेखि भाडा अवधी सकिएको अवस्थामा नवीकरण नगर्न आग्रह गरेको हो । ‘हामीले वक्र्स सप सञ्चालक र घरधनी दुबैलाई भाडा सम्झौता नलम्ब्याउन वा नवीकरण नगर्न आग्रह गरिसकेका छौं’–मेयर आचार्यले भने ।
अटो मेकानिकल वक्र्स एशोसियसनका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपालीले महानगरकै ढिलासुस्तीका कारण अटो भिलेज निर्माणमा ढिलाई भएको बताए । उनले भने,‘अटो भिलेज बनाउन केले रोक्यो ? किन रोकिएको हो ? । अब ढिला नगरी निर्माण गरौं ।’
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले अटो भिलेज बनाउन सबै क्षेत्र सहमत भएपनि कार्यान्वयनमा ढिलाई भइरहेको टिप्पणी गरे । हामी नगरे कसले गर्ने ? उनले भने,‘गर्ने हामीले नै हो । त्यसैले सबैले सहकार्य गरौं तर अब ढिला नगरौं ।’
अखिल नेपाल यातायात मजदुर संगठन कास्कीका सचिव अर्जुन पौडेलले हेटौं, बुटवललगायतका नगरमा बनेको अटो भिलेज पोखरामा किन बन्न नसकेको भन्दै मेयर आचार्यलाई प्रश्न गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







