ओटेफद्वारा पत्रकार पाण्डे सम्मानित


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित




फागुन१६ पोखरा । पोखराका पत्रकार घनश्याम पाण्डे सम्मानित भएका छन् । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले छैटौं साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गरे ।

पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उनलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन् ।

सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुन् । हाल उनी पोखरा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत छन् । पाण्डेले दुई दशकदेखी पत्रकारिता गरिरहेका छन् ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले गण्डकी प्रदेशको राजधानी समेत रहेको देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरालार्ई पर्यटकीय राजधानी घोषणाको तयारी गरिएको बताए ।

आगामी चैत पहिलोसाताभित्रमा भव्य समारोहकाबीचमा पर्यटकीय राजधानी घोषणा गरिने उनले जानकारी दिए । हालसम्म यही दिन भनेर मिति तय नभएपनि चैत १ देखी ७ गतेभित्रमा घोषणा समारोह हुने बताए । प्रदेश सरकार र महानगरले औपचारिक निर्णय गरेर राजधानी घोषणाका लागि सङ्घीय सरकारमा पठाएका छन् । पर्यटकीय राजधानीका लागि गण्डकी प्रदेश सरकार र महानगरपालिकाले पटक पटक सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

महानगर प्रमुख आचार्यले धेरै लामो छलफल र अध्ययनपछि राजधानी घोषणा गर्ने ठाउँमा पुगेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा घोषणा कार्यक्रम गर्ने योजना रहेको सुनाए । आचार्यले भने,“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो,, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै चिज हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ ।”

उनले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी तयारी गर्न समेत पर्यटन व्यवसायी समक्ष आग्रह गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नविन पोखरेल, पर्यटन व्यवसायी वासु त्रिपाठी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, अध्यक्ष उमा रेग्मी भण्डारी, निर्वतमान अध्यक्ष पार्वती पाण्डे, सचिव बालकुमारी न्यौपाने लगायतले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरेली पर्यटन व्यवसायी आतुर रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।