मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा


     एभरेस्ट आवाज    
     फागुन ३० गते २०८० मा प्रकाशित




म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताए ।

“जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि नजिकै पर्ने लुङबुक गुफा सुनसान छ,” उनले भने, “मुस्ताङ भित्रने पर्यटक र भक्तजनलाई लुङबुक गुफामा भित्र्याउन सकेमा बसाइँ लम्ब्याउन सकिने सम्भावना छ ।” गुफाभित्र हात्तीको अनुहार, सुड, लक्ष्मी, शिवलगायत देवीदेवता, मानिसका शरीरका अङ्ग आकृति देख्न सकिन्छ । विभिन्न जनावर र शिवलिङ्गका प्राकृतिक आकृति गुफाका आकर्षण हुन् । करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्वारमा ४० मिटर अग्लो झरना छ । हिउँदयाममा झरनाको पानी जम्छ ।

गुफाभित्र बौद्ध धर्मावलम्बीका लामाले तपस्या गर्ने ठाउँ छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकअन्तर्गत एक्लेभट्टीस्थित कालीगण्डकी नदीको मोटरेबल पुलदेखि करिब १० मिनेट गाडीको यात्रा गरेपछि पुगिने फल्याक गाउँदेखि लुङबुक गुफा पुग्न ४५ मिनेट पैदलयात्रा गर्नुपर्छ । फल्याक गाउँदेखि हिँडेर गुफासम्म पुग्दाको दुःख कलात्मक आकृति देखेर भुलाउँछ । गुफाभित्रै पकाएर खान सकिने भाँडाकँुडा पनि छन् ।

औँसी र पूर्णिमाका दिन लुङबुक गुफा दर्शन गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासीले बताएका छन् । फल्याक गाउँदेखि लुङबुक गुफा जोड्ने पैदलमार्ग तयार पारिएको र आगामी वर्ष सडक पु¥याउने तयारी गरेको वडाध्यक्ष गुरुङले बताए । गुफाको धार्मिक र प्राकृतिक महत्वका विषयमा प्रचारप्रसार गरिने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।