महेन्द्र मा.वि.मा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयका पूर्व शिक्षक समाजसेवी स्व.गोविन्दप्रसाद पौडेल र उहाँका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको स्मृतिमा परिवारजनका तर्फबाट विद्यालयको ६४ औं वार्षिकोत्सवका अवसरमा अक्षयकोष स्थापना गरिएको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष रकमको ब्याजबाट प्रोत्साहन छात्रबृत्ति प्रदान गरी विद्यालयले सञ्चालन गर्ने उक्त अक्षय कोषको संरक्षक बेदकुमारी पौडेल रहनुभएको छ भने संस्थापकद्वयमा महेश पौडेल र सुजनबाबु पौडेल रहेका छन् ।

बुबा गोविन्दप्रसाद पौडेलले ३५ वर्ष महेन्द्र मा.वि.मा अध्यापन गराउनुभएको र आँफूहरू चारजना दाजुभाइ दिदीबहिनी समेतले यसै विद्यालयमा अध्ययन गरेको बताउँदै अक्षयकोषका संस्थापक महेश पौडेलले बुबासँगै हजुरबुबा र हजुरआमा समेतको स्मृतिमा अक्षयकोष राखिएको जानकारी दिए ।

स्व.पौडेल शिक्षण पेशाबाट अवकाश पछि पनि सो विद्यालयको ब्यवस्थापन समितिको सदस्य, भवन निर्माणको समितिको संयोजक लगायतका जिम्मेवारी समेत निर्वाह गरेका थिए । व्रह्माण समाज नेपालको पूर्व केन्द्रीय सदस्य, विश्व हिन्दु परिषद् कास्कीको पूर्व सल्लाहकार, फामर्स फोरा कास्कीको संस्थापक अध्यक्ष, पौडेल आत्रेय समाज भलामको उपाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत विभिन्न सामाजिक संस्थामा रही सामाजिक सेवाका क्षेत्रमा पौडेल कृयाशिल थिए । २००८ साल वैशाख १७ गते जन्मिएका स्व.पौडेलको आज ७४ औं जन्मजयन्ती हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।