पोखरा । नेपालमा अहिले सहकारीहरु बद्नाम छन् । सहकारीका ठग सञ्चालकहरुले बचतकर्ताको रकम अपचलन गरेका खबरहरु दिनहुँ आइरहेका छन् । जसका कारण बचतकर्ताहरु घर न घाटको अवस्थामा पुगेका छन् भने उनीहरु आफैले बचत गरेको रकम फिर्ता माग्दै आन्दोलनमा होमिनुपरेको अवस्था छ ।
सहकारीहरु एकपछि अर्को गर्दै धरासायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धिको ढोका खोल्न तल्लिन छ । रुपातालको पुर्नस्थापनासँगै माछापालनमार्फत स्थानियको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित यो रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडले माछापालनबाटै स्थानियबासीको समृद्धि खोजिरहेको हो । २०५८ सालमा ३६ घर परिवारबाट शुरु भएको यो सहकारीमा अहिले १ हजार १२ जना सेयर सदस्य छन् । जुन सहकारी अहिले गण्डकीको मात्रै नभई नेपालकै एक अब्बल र नमूना सहकारीका रुपमा स्थापित छ ।
तत्कालीन समयमा तालको संरक्षण नहुँदा ताल प्राकृतिक र मानवीय दुबै किसिमले अतिक्रमको चपेटामा परिरहेको थियो । त्यसमाथि जलकुम्भीलगायतका झारले ढाकिदा रुपाताल कुरुप अवस्थामा थियो । त्यसबेला माछाको व्यवसायीक पालन र उत्पादन दुबै हुँदैनथ्यो ।
बरु पढ्नका लागि भनेर तालपारी हिंडेकाहरु पौडी खेल्ने र बल्छी थापेर दिन कटाउने ठाउँमात्र बन्यो रुपाताल । जसका कारण स्थानियको शैक्षिक स्तर माथि उठ्न । यी सबै कुरालाई ख्याल गर्दै तत्कालीन समयमा युवाहरुको समूहले सहकारी बनाउने निर्णय गरे । जसको उद्देश्य थियो रुपाताललाई पुरानै अवस्थामा फर्काउने र व्यवसायीक माछापालनमार्फत स्थानियलाई समृद्धिको बाटो देखाउने ।
नभन्दै अहिले सो सहकारी आफ्नो उद्देश्यमा सफलहुँदै गएको छ । जलकुम्भीले ढाकिएको रुपाताल अहिले कञ्चन बनेको छ भने अतिक्रमणको चपेटा कम भएको छ । त्यतिमात्र होईन सहकारीले गरेको माछापालनबाट वार्षिक करोडौं आम्दानी गर्न सफल भएको छ । सहकारीले वार्षिक ४२ हजार केजी माछा उत्पादन गर्नेगरेको छ जसको आम्दानी वार्षिक २ करोड ३१ लाख हुने गरेको रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारीका अध्यक्ष शिवराज अधिकारीले जानकारी दिए । जसबाट वार्षिक १ करोड ८० लाख रुपैयाँ बचत हुने गरेको उनको भनाई छ । रुपातालमा रहु, भ्याकुर, नैनी, सहर, तिलापियालगायतका जातका माछाहरु पाईने अध्यक्ष अधिकारीले जानकारी दिए ।
माछा प्रायः सबै काउन्टरबाटै बिक्री हुने उनले बताए । सिजनका बेला एकै दिनमा धेरै माछा जालमा परेका बेलाभने गाडीसमेत राखेर बेच्ने गरिएको उनको भनाई छ । माछा स्वादिलो भएकाले माछा बिक्री गर्न समस्या नहुने उनले बताए । यहाँको माछाको स्वाद नै मीठो छ,उनले भने,‘चिसो पानीमा हुर्किएकाले माछाको स्वाद मीठो छ । यहाँको माछा खाएपछि अरु ठाउँको माछा खानै मन लाग्दैन ।’ एक सर्भेक्षणमा रुपातालको माछा विश्वकै मीठो मध्येको दोश्रो नम्बरमा परेको र नेपालको पहिलो नम्बरमा रहेको उनले दाबी गरे ।
सहकारीले ताल संरक्षणसँगै माछा उत्पादनमार्फत आम्दानी त गरेको छ नै, त्योसँगै स्थानियलाई रोजगारीपनि सिर्जना गरेको छ । सहकारी र माछापालनका लागि हाल २४ जनालाई प्रत्यक्ष रोजगारी दिएको अध्यक्ष अधिकारीले बताए । त्यसबाहेक सयौंलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको उनको भनाई छ । यहाँको माछा बेच्ने भनेर रुपाताल किनारमै १५÷२० वटा होटल तथा रेष्टुरेण्ट खुलेका छन्,उनले भने,‘त्यसबाहेक माझीकुनालगायतका ठाउँमापनि यसैलाई ब्राण्ड बनाएर माछाको स्वाद पस्कन्छन् ।’ जहाँ सयौंले रोजगारी पाएका छन् ।
एनका अनुसार अहिले रुपातालमै स्थानिय सिपीमा मोती पालनपनि शुरु गरिएको छ । जुन अहिले परीक्षणका रुपमा रहेको अध्यक्ष अधिकारीले बताए । ‘मोती उत्पादन सफल भएमा स्थानियको जीवनस्तर उकास्न कोशेढुंगा सावित हुन्छ’–उनले भने ।
रुपाताल पछिल्लो क्रममा पर्यटकीय गन्तव्यका रुपमापनि परिणत भएको छ । वर्षमा फरक÷फरक तीन रुप देखिने रुपाताल आफैमा अदितीय सुन्दर छ । त्यतिमात्र होईन माछा पारखीका लागि रुपाताल अनिवार्य गन्तव्य बन्दै गएको छ । तालमा डुंगा सयर, प्राकृतिक छटाहरुको दृश्यावलोकनसँगै डुंगाबाटै नजिकको जंगलमा रहेका मृगलगायतका जनावर र चराचुरुङ्गीसमेत अवलोकन गर्न पाईने सहकारीका संस्थापक तथा कर्मचारी रामजी अधिकारीले बताए ।
‘सहकारी नभएको भए रुपाताल अतिक्रमणको चपेटामा त पथ्र्यो नै । हाम्रो जीवनस्तरपनि ज्यूका त्यूँ हुन्थ्यो होला । तर सहकारी कै कारण आज हामी समृद्धितर्फ डोहोरिएका छौं ।’ माछापालनमा व्यवसायीकतासँगै स्थानियले अध्ययनपनि गर्न थालेको र अहिले शैक्षिक स्तरपनि माथि उठेको उनको भनाई छ । हिजो पौडी खेलेर र बल्छी खेलेरै मान्छेले पढाईमा ध्यान दिएनन्,उनले भने,‘तर अहिले पढाई राम्रो भएको छ । शैक्षिक स्तर माथि उठेको छ ।’
३ करोड ५२ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारी अहिले गुडविलसहित १५ करोडको पुगेको छ । जसले ८ करोड लगानी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






