फाइल तस्विर
जेठ ७ गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत रु दुई करोड ५० लाख ५८ हजार राजस्व सङ्कलन गरेको हो ।
साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरुबाट रु एक लाख ५२ हजार राजस्व सङ्कलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।
सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा रु दुई करोड ४९ लाख छ हजार प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उनले बताए । मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति रु एक हजार प्रवेश शुल्क लिँदै आएको छ ।
त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार प्रवेश शुल्क लिने गरिएको उनको भनाइ छ ।
यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व सङ्कलन गरिसकेको छ । यस वर्ष १२ हजारभन्दा बढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







