पोखरा महानगरको नीति तथा कार्यक्रम पर्यटन केन्द्रीत


     एभरेस्ट आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित




असार १० पोखरा । पोखरा महानगरपालिकाले पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटनमैत्री नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा गत चैतमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट घोषणा गराइएको पर्यटनको राजधानीलाई आवश्यक पर्ने पूर्वाधार निर्माणसँगै ब्राण्डिङदेखि प्रचारप्रसार गर्नेसम्मका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।

पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रम समाजवाद उन्मुख बनाउने घोषणा गरेको छ । जसका लागि समाजवाद उन्मुख कार्यक्रमको पहिचान गर्दै समन्वयात्मक रुपमा कार्यान्वयन प्रक्रिया अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना बनाउने भएको छ । एक वडा एक विशिष्ट कार्यक्रमपनि कार्यान्वयन गर्ने महानगरले जनाएको छ ।

महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गर्ने भएको छ । पोखरा भ्रमण वर्ष सफल बनाउन संघ, प्रदेश सरकार र नीजिक्षेत्रसँग सहकार्य गर्दै पोखरामा पर्यटक आगमन संख्या कम्तीमा पन्ध्र लाख पु¥याउने पोखरा महानगरपालिकाले नीति लिएको छ । महानगरले नेपालमा आउने बाह्य पर्यटकहरू मध्ये कम्तीमापनि ६० प्रतिशत पोखरा आउने वातावरण बनाउने जनाएको छ । जसका लागि सोहि अनुरुपको रणनीति अवलम्बन गरिने उल्लेख छ । यसलाई सफल बनाउन महानगरले पाश्र्वचित्र अर्थात टुरिजम प्रोडक्ट प्रोफाइल निर्माण गर्ने तथा त्यसको प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा महानगरपालिकाले पर्यटनको राजधानी पोखरामा पर्यटकीय पूर्वाधार निर्माणका लागि लगानी बैठक आयोजना गर्ने भएको छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीका लागि प्रोत्साहित गर्न यस्तो बैठक गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । जसका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरिनेपनि जनाइएको छ ।

महानगरले प्रमुख पर्यटकीय गन्तव्यहरूको आधिकारिक विवरण तयार गरी महानगर पर्यटकीय गन्तव्य प्रोफाइल बनाउने भएको छ । फेवातालको उत्तर पश्चिमी खण्डमा मडड्याम निर्माण गर्ने, हर्पनखोला र फेवातालको संगममा फेवाबिच निर्माण गर्नेपनि जनाइएको छ । महानगरले फेवाताल जाने सडकको सहिदचोकदेखि हल्लनचोक सडक खण्डमा र सिद्धार्थचोकदेखि विन्ध्यवासिनी सम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गर्ने जनाएको छ । सो क्षेत्रमा हाल रहेको सडकलाई भने पैदलिकरण लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखरा–१ स्थित सीमपानीमा कालि गंगा तथा सेती गंगाको जलसिंचित शालिग्राम सहितको“मुक्तीक्षेत्र प्रवेशद्वार” निर्माण गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।