चार दशकदेखि बनाउन नसकेको बसपार्क निर्माण महानगरको नीति तथा कार्यक्रममा


     एभरेस्ट आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाले करीब चार दशकसम्म बनाउने भन्दै बनाउन नसकेको पोखरा बसपार्क निर्माणलाई यस पटकको नीति तथा कार्यक्रममा समेटेको छ ।
पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

महानगरले बिन्ध्यबासिनी बसपार्कको स्तरोन्नति गर्ने तथा पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउन समन्वय गर्नेपनि उल्लेख छ ।

व्यस्त शहरीक्षेत्रस्थित केआइ सिंङ पुल, महेन्द्रपुल जस्ता पुलहरूको वैकल्पिक पुल निर्माण सम्बन्धमा अध्ययन गर्ने भएको छ ।

महानगरले पोखरामा बहुतले पार्किङस्थल निर्माण प्रक्रिया अघि बढाउने, मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र बनाउने जनाएको छ ।

त्यस्तै, रानीपौवा शोभा भगवतीस्थान नजिक रहेको पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले सडकको क्षेत्राधिकार भित्र परेका वर्कसप, पेट्रोल पम्प जस्ता व्यवसाय तथा विपद् जोखिम संवेदनशील संरचनालाई हटाइ अन्यत्र स्थानान्तरण गर्ने नीति लिएको छ । हालको नयाबजारलगायतका क्षेत्रमा रहेका यी व्यवसायका कारण पोखरा कुरुप देखिएको तथा यसका कारण जोखिम निम्तिएको भन्दै आलोचना भएपछि महानगरले स्थानान्तरण गर्ने नीति लिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।