पोखराको रोपाईं महोत्सवमा पर्यटक रमाए


     एभरेस्ट आवाज    
     असार १५ गते २०८१ मा प्रकाशित




असार १५ पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन गर्दै उहाँले रैथाने बालीको संरक्षण तथा उत्पादन गर्दै पर्यटकलाई आकर्षित गर्न सके किसानको पनि आयआर्जन बढाउन सकिने धारणा राखे ।

सिँचाइको सुविधा भएका फाँटसमेत बाँझै हुँदा विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दैै उनले खेतीयोग्य जमिनलाई बाँझो हुन नदिने किसानलाई अनुदान उपलब्ध गराउँदै प्रोत्साहित गर्नुपर्ने बताए । खेतीयोग्य भूमि टुक्राउने कार्यलाई रोक्दै त्यस्ता जग्गामा धानलगायतका बाली लगाउन जरुरी रहेको उनको भनाइ थियो ।

त्यसअवसरमा किसानले मुख्यमन्त्री पाण्डेलाई जेठो बुढो जातको धान र घ्यू उपहार दिएका थिए ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पर्यटनसँग कृषि उत्पादनलाई जोड्न सक्याँै भने किसानमा समृद्धि आउने धारणा व्यक्त गरे । उनले कृषिमा आधुनिकीकरण जरुरी भएको समेत उल्लेख गरे ।

गण्डकी प्रदेशसभाका सदस्य प्रकाश बरालले प्रत्येक वर्ष हर्पन खोलाले किसानलाई दुःख दिने गरेको उल्लेख गर्दै खोला संरक्षण जरुरी भएको बताए । वर्षामा धान खेतमा खोलाको बाढी पस्दा किसानले दुःख पाउने गरेको उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले किसानलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष कास्कीका विभिन्न ठाउँमा परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको बताए ।

महोत्सवमा स्थानीय, आन्तरिक तथा विदेशी पर्यटक हिलोमा रमाएका थिए भने सोही अवसरमा हिलेदौड, भलिबल, हिलोमा माछा छोप्ने, डोरी तान्नेलगायतका कार्यक्रम आयोजना गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।