बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ ।
यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ । पोखराको विन्ध्यबासिनी मन्दिर, भद्रकाली मन्दिर, लामाचौर अकलादेवी मन्दिरलगायतका मन्दिर तथा शत्तिपीठहरुमा दर्शनार्थीको घुँईचो लाग्ने गर्छ । तर यस वर्ष विश्वब्यापी महामारीका रुपमा आएको नोभल कोरोना भाईरस (कोभिड१९)का कारण यी सबै मन्दिरहरुमा नित्य पूजाबाहेक दर्शनार्थीलाई प्रवेश र पूजा अर्चना गर्न मनाहि गरिएको छ ।
आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






