कोरोनाले उपहार स्वरुप दिएको फुर्सद र दिमागमा उठेको एउटा सोच !


     उषा शेरचन    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित





हामीले जुन सामाजिक सञ्जाल प्रयोग गर्छौं त्यो हाम्रो खानाको थाल जस्तै लाग्छ मलाई ! जुन थालमा खायो त्यही थालमा चुठ्न मन लाग्दैन मलाई फेरि ! त्यसैले मैले आजसम्म फेसबुक प्रयोगकर्ताहरूलाई “फेसबुके” र फेसबुक ( Facebook) को फाउन्डर सीईओ मार्क जुकरबर्ग (Mark Zuckerberg) लाई “जुके” भनेर सम्बोधन गरेकी छैन !
सबै तप्का र क्षेत्रमा सदुपयोग गर्ने र दुरुपयोग गर्नेहरू त हुन्छन् नै । त्यो व्यक्ति विशेषको प्रकृति र प्रबृत्तिमा निर्भर रहने कुरा भएको कारणले आफ्नो बाहेक अरूका बारेमा मलाई भन्नू केही छैन ! सच्चिने त स्वयं नै हो । मानसिकता वा सोचमा परिवर्तन ल्याउने पनि स्वयंले नै हो । र, स्वयं सच्चिदै जाने हो भने आफ् से आफ सच्चिदै जान्छ समाज पनि !
सबैको आआफ्नै दृष्टिकोण, स्वर, शब्द, अहम् , स्वाभिमान, अभिमान, कुण्ठा, खुसी र पीडा, सोच र विचार नितान्त बेग्लाबेग्लै हुन्छ नै । त्यसलाई व्यक्त गर्नु नगर्नु आआफ्नै खुसी र मर्जीको कुरा हो । तर आफ्नो कुरा राख्दा वा भन्दा अरूसँग दाँज्ने, अरूलाई मुछ्ने, हिलो छ्याप्ने, खुट्टा तान्ने, अनावश्यक र नकारात्मक टीकाटिप्पणी गर्ने, ईर्ष्याभाव राख्ने अनि आफ्नो कुरा अरूमाथि जबर्जस्ती लाद्ने, आफू मात्रै सही अरू सबै गलत भन्नबाट पनि टाढै बस्न चाहन्छु म । किनभने म मैँ हुँ । अरू अरू नै ! मलाई मेरो अधिकार प्रयोग गर्ने जति हक हुन्छ अरूलाई पनि उतिकै हुन्छ भनेर पनि बिर्सन्न मैले ! अनि आफ्नो कुरामा कति सत्यता छ? सही सुझाव हो कि कुण्ठा पोखिएको हो? सुधारका लागि गरिएको स्वस्थ आलोचना हो कि आलोचनाका लागि आलोचना वा ईर्ष्यावश भनिएको हो भनेर अरूले पनि बुझ्ने क्षमता राख्छन् । अरूले पनि मुल्यांकन गर्न सक्छन् भनेर पनि भुल्दिनँ म ! धेरै हदसम्म सद्भाव राखिन्छ नै ! अनि अरू प्रयोगकर्ताकोमा भने कमेन्ट् गरिरहने सधैंभरि तर मेरोमा कहिल्यै कमेन्ट् नगर्ने प्रयोगकर्ताहरू जस्तै मैँ हुँ भन्नेहरूलाई सधैंभरि मैले मात्रै एकोहोरो रोटी पनि पकाउने गर्दिनँ यो पनि उतिकै सत्य कुरा हो फेरि ! किनभने कुनै स्वार्थ शर्त र अपेक्षा कसैसँग पनि केही छैन मेरो ! अनि असम्बन्धित कुरा कुनै पनि फोटो स्ट्याटस् वा अन्य कुनै पनि सामग्री अरूलाई ट्याग पनि गर्दिनँ । र मेसेञ्जर मार्फत पनि पठाउँदिन ! अत्यावश्यक कुरा बाहेक खासै च्याटिङ पनि गर्दिनँ ! अनि आफ्नो कुरा भन्दा अरूलाई घोचपेच गरेर भन्न पनि पटक्कै मनपर्दैन मलाई !
हामीले हजारौं लाखौं राम्रो काम गरौँ तर दुर्भाग्यवश कुनै गल्तीले वा परिस्थितिवश केही नराम्रो भएछ भने आफूले जतिसुकै राम्रो काम वा गुण गरेको भए तापनि सबै बिर्सेर अरिङ्गालको गोलामा हात हाल्न पुगेझैँ गरेर टोक्न आउनेछन् भनेर पनि सम्झिरहन्छु मैले ! आजकोजस्तो दिन भोलि नहुनसक्छ ! जीवनमा जे पनि आइपर्न सक्छ ! र, जेजस्तो परे पनि सहनै पर्छ भन्ने ज्ञान पनि छ ममा ! मरेर लानु केही छैन बाँचुञ्जेल सकेसम्म माया र सद्भाव बाँडौँ र जीवनमा जेजस्तो परे छ भने पनि हाँसीहाँसी नै बाँचौ भन्ने नै लाग्छ मलाई !
समाजिक सञ्जालको यो साझा चौतारी पनि निकै प्रिय लाग्छ मलाई ! त्यसैले सकेसम्म सदुपयोग नै गरौँ समयले दिएको सुबिधा र उच्च प्रविधिको बिकास भन्ने नै लाग्छ !
सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने? भन्ने अप्सन सबै त स्वयंकै हातमा छदैछ ! लाइक कमेन्ट् गर्ने नगर्ने, फोटो भिडियो पोष्ट गर्ने नगर्ने , सिर्जना वा स्ट्याट्स आदि पोष्ट गर्ने नगर्ने, साथी बनाउने नबनाउने, कस्तोलाई बनाउने? कसको कसकोमा कमेन्ट् गर्ने? कसकोमा नगर्ने? मनपरे जोडिने मननपरे अनफ्रेन्ड गर्ने, हैरानै पारे ब्लक गर्ने, हेर्न मन लागे हेर्न मन नलागे नहेर्ने, वा फेसबुकै चलाउन्न भनी भनी लुकिलुकि सबै हेर्ने कि वा साच्चिकै नहेर्ने, आफ्नो काम पर्दा मात्रै झुल्किने कि झुल्किदै नझुल्किने, त्यस्तै परे एकाउन्टै बन्द गर्ने वा केही समयका लागि बन्द गर्ने वा दिनदिनै उपस्थित हुने हप्ता वा महिना वा बर्षमा एकपटक मात्रै उपस्थित हुने सबैसबै हामी प्रयोगकर्ताकै हातमा सुम्पेको छ सामाजिक सञ्जालले पनि ! त्यसैले आफ्नो रूचि बमोजिमका सामग्री मात्रै पढे, हेरे अनि कमेन्ट गरे भो ! र, आफ्नो समय र अनुकूलता बमोजिम उपस्थित भए भो ! यसमा महाभारत के? भन्ने लाग्छ मलाई !
कुरो यो पनि हो कि, पोष्ट गरेका स्ट्याटस् हेरेर र कमेन्ट पढेर पूर्णरूपमा नभए पनि धेरै हदसम्म मान्छेको मनोविज्ञान बुझ्न पनि सकिन्छ ! र कस्तो प्रकृति र प्रवृत्तिका भनेर अनुमान गर्न पनि सकिन्छ नै !
सबैले “फेसबुके कवि” “फेसबुके कविता” आदि इत्यादी भनिरहेका पनि पढिरहन्छु यदाकदा !
अहिले मेरो मनमा उठेको कुरा यो पनि –
फेसबुकमा पोष्ट गरिएका कविता, गीत, गजल, मुक्तक, हाइकु, बाछिटा आदि सबै काव्य विधालाई विधागत हिसाबले छुट्टाछुट्टै र लघु कथा र कथाका बारेमा छुट्टाछुट्टै रुपमा फेसबुकमा पोष्ट भएका रचनाहरूलाई यो भएन त्यो भएन भनेर आलोचना गर्ने समालोचकहरू स्वयंले साँच्चिकै समालोचना नै गरेर समालोचनाको एउटा गतिलो ग्रन्थै प्रकाशित गरे पनि हुन्थ्यो बरू ! नभए सोघकर्ताहरूले फेसबुकमैँ पोष्ट भएका रचनाहरू माथि सोध कार्य गरेपनि हुन्थ्यो ! धेरै अगाडि फेसबुक साहित्यमाथि अत्यन्तै उदाहरणीय साहित्यकार साथीद्वय डा. रजनी ढकाल र सुस्मिता नेपाल बहिनीहरुले एउटा सिङ्गै पुस्तक प्रकाशित गर्नु भएको थियो जस्तै लाग्छ मलाई !
फेरि पनि भन्छु यो चाहिँ मेरो कुरा भनेर बाँकी मर्जी त आआफ्नै हजुर !
बडा दसैं अर्थात् विजया दशमी २०७७ को फेरि पनि हार्दिक शुभकामना ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।