चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट रु १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत र सात लाख २१ हजार ७०० रुपियाँ को सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा दाखिला गरेको छ ।
यसैगरी, मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट १३ बोरा आतिसबाजी पटाका सहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पो चालक २९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
मे १ ह ५५२७ नं को टेम्पोमा मङ्गलबार साँझ चेकजाँच गर्दा प्रहरीले बरामद गरेको ती पटाकाको मूल्य रु सात लाख रहेको छ । टेम्पोसहित पक्राउ परेका चालक प्रधान र पटाका आयातकर्ता दर्जीलाई कानूनी कार्वाहीका लागि धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । तिहार र छठ पर्व नजिकिँदै गएका कारण भारतबाट लुकिछिपी पटाका र अन्य सामान तस्करी हुनसक्ने सम्भावनालाई दृष्ट्रिगत गरी प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कोइरालाले बताए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।