
गएको फागुन महिनाको पहिलो हप्तामा वैशाख जेठ भित्रै नेपाल फर्कने गरि अमेरिका आएको थिएँ । नेपालले चैत एघार वाटै अन्तराष्ट्रिय एयरलाईनहरू वन्द गरिदियो । कोभिड १९ को कारण मेरो घर फर्कने वाटो वन्द भयो । वाटो नै वन्द भए पछि अमेरिकामा जीवन यापनको नयाँ शैली अपनाउन वाध्य भएं । मेरो जीवनको रुटिन भत्कियो । मेरो दैनिक रुटिनसंगै मेरा सारा योजनाहरु पनि भत्किए । मेरो आँखा भरि लथालिग भएको संसारको नक्सा टाॅंगियो । संसारका अरवौ मानिसहरुको दैनिकी जसरी फेरियो उसैगरि म पनि फेरिन वाध्य भएं । यति वेला संसाराका मनिसहरुलाई हेरेर आफूलाई परिवर्तन गर्ने कोशिस गरिरहेको छु ।
यस अघि ,अमेरिका पाँच पटक आएर फर्किसकेको रहेछु । जति पटक आए पनि तिनै अग्ला भवन , फराकिला सडक , ठुला ठुला व्यापारिक प्रतिष्ठान तथा मलहरु, रेष्टुरेन्ट वार , जुवाघर, स्कुल कलेज, विकेनमा मासुपोलेर वियर पियर नाच्ने पार्कहरु , व्यक्ति, व्यक्तिको हात हातमा मोवाईल, ईन्टर नेट र सलल गुडने गाडी , एटिएम र कम्फर्टएवल आवासहरु वाहेक केही थाहा पाउन सकिनॅं । अमेरिका भनेको यही हो भनेर फर्कने गरेको थिएं ।
पहिलो पटक सन २०१२ अक्टोवरमा अमेरिका आउॅंदा अमेरिकामा राष्ट्रपतिको चुनाव थियो । अमेरिकी मेडियामा नेपालमा जस्तो चुनाव लागेको देखिन । मुलधारका मेडियाले उमेदवार वीचको डिबेट वाहेक अन्य समाचारलाई सामान्यिकरण गरेको देखें । त्यति वेला म न्यूयोर्कको क्विन्समा थिएं । मतदानको वेला नजिकका एक दुई मतदान केन्द्र पनि हेरेको थिएं । नेपालको चुनावमा पटक पटक मतदान गरेको भएर हो कि मलाई त्यो चुनाव जस्तै लागेन । अहिले पनि राष्ट्रपतिको चुनावको गतिविधि नियाल्ने अवसर पाएं । यति वेला भने चुनाव निकै लाग्यो अमेरिकनलाई । मतदान सकिना साथ परिणाम आउने अमेरिकामा यतिवेला नेपालको भन्दा पनि ढिलो परिणाम आयो । केही अनुभवीहरुले भने अनुसार सन २००० पछिका चुनावी परिणाममा यो सवै भन्दा पट्यार लाग्दो हो । लामो समय लागेकोले विगतमा भन्दा अल्लि वढी राजनीतिकरण पनि भएको पाएं । सामान्यत अमेरिकी जनताले एउटा दललाई दुई कार्यकाल काम गर्न दिने प्रचलन जस्तै थियो । व्यापारिक पृष्ठभूमिका राष्टपति डोनाल्ड ट्रम्पलाई अमेरिकी जनताले दोस्रो कार्यकालको लागि अनुमति दिएनन् । कोरोना भाईरसले उनको सत्ता खोस्यो ।
भाईरस नियन्त्रण गर्न नसकेको । अन्तराष्टिय सम्वन्धहरु विगारेको । ग्लोवलाईज भैरहेको अहिलेको समाज नवुझेको , राष्टवादको नारा लगाएको आरोपको खण्डन गर्न नसकेर उनी हारे । तर पनि हारलाई सहज स्वीकार गर्न नसकेको आरोप पनि उनले खेपे । आप्रवासीलाई खेद्ने घोषणा गरे तर अमेरिकी प्रथम महिला आप्रवासी हुन् भन्ने कुरा विर्सिए । अहिले चुनावमा विपक्षीले यो लगायत जातिय विभेद वढाएको ,अन्तराष्टिय सम्वन्ध विगारेको , जलवायु परिवर्तनले पारेको असरवारे आखाॅं चिम्लेको , अर्थतन्त्र विगारेको लगायतका आरोपहरुको लगाएर वाजी मारे । अठहत्तर वर्षका वुढा जो वाईडनलाई ४६औ राष्ट्रपति चुने । यो भयो यहाॅंको मोटा मोटी राजनीतिको कुरो ।
पत्रकारिता हावी भएको मनले शुरुमा कोरोना भाईरसले वढी प्रभावित भएका ठाॅंउहरु घुम्न मनलाग्यो । त्यसैले यही असार ७ गते न्यूयोर्कको म्यानहाटन घुम्न गएं । ,जुन वेला अमेरिका कोरोना भाइर्रसले थलिएको थियो । त्यति वेला अमेरिकामा कोरोनावाट सक्रमितको संख्या २३ लाख ५३ हजार नाघिसकेको थियो । जसमा १ लाख २२ हजार भन्दा वढीको ज्यान गैसकेको थियो । जुन वेला विश्वमा कोरोना संक्रमितको संख्या जम्मा ९० लाख नाघेको थियो , भने मृत्युले ४ लाख ६९ हजार नाघेको थियो । त्यस्तो विषम समयमा न्यूयोर्कको म्यानहाटन घुमेको थिएं । चौवीसै घण्टा जागा रहने म्यानहाटन महिनौ देखि सुतेको छ भनेर पनि लेखेर प्रकाशन गरेँ । त्यति वेला मेरा शुभ चिन्तकहरुले गाली पनि गरे । कोरोनाको ,विश्वकै केन्द्र मानिएको ठाउमा किन गएको ? भनेर प्रश्न पनि गरे । तर सुनसान म्यानहाटनको तस्वीर हेरेर कतिले प्रशंशा पनि गरे । त्याहा जानु जोखिम थियो र पनि ,त्यो जोखिम युक्त क्षेत्रमा गएर केही न केही जानकारी गराउनु एउटा पेशाकर्मीको धर्म ठानेर त्यसो गरेको थिएं ।
यसै गरि असार २६ मा अमेरिको राजधानी वासिगटन डिसीको जर्जटाउनमा रहेको वाटर फ्रन्ट घुम्न गएँ । मानिसको भिड पन्छाई नसक्नु थियो । त्याहा पुग्दा कहि कतै कोरोना भाईरसको शंकेत पनि देखिन । पोटोमास रिभरको छेउ मानिसले भरिएको थियो । त्यहाॅंका रेष्टुराहरुमा कुनै सिट खालि थिएनन ,मानिसहरु टेवुल कुरेर वसेका थिए । उनीहरु कुन वेला टेवुल खाली होला भनेर पर्खिरहेका थिए । त्यति वेला अमेरिकामा ३३ लाख जति भाईरसका संक्रमित थिए, भने १ लाख ३६ हजार भन्दा वढीले ज्यान गुमाई सकेका थिए , र पनि उनीहरुमा कुनै डर थिएन । वरु म आफै डराएर छेउ छेउ लागेर उनीहरुको गतिविधि नियाली रहेको थिएँ । त्यो वेलाको तस्वीर सहितको विवरणले पनि गाली र स्यावासी दुवै पाएको थिएं ।
त्यस पछि मैले शहर घुम्ने रहर गरिनॅं । अमेरिकाको ईष्टकोष्टको उत्तर दक्षीण फैलिएको अप्लेचियन पर्वत श्रृखला सम्झिएं । गुगलमा केही ठाउँहरु खोजेँ । छोरा आशिष सॅंग सहयोग लिएर योजना वनाएं । ति ठाउहरु पुग्न आफ्नो मात्र वलवुताले भ्याउन सक्ने थिएन । आखिर सहयोग जरुरी थियो । अमेरिकाका गाउँ घर ,वन पाखा नदी नाला ,ताल पोखरी आदि रहेछन । आफूवसेको वस्तीवाट हिडेर त्याहा पुग्न सम्भव थिएन । रहरले मात्र केहीे गर्दैथ्यो ? त्यसैले साधन श्रोत जुटाउन तिर लागे । कोरोना भाईरसले नसताएको भए सायद यो विचारको जन्मै हुने थिएन । यस पटक पनि विगतको झै उही झिलिमिलि शहर हेरेर फर्कन्थे होला ।,कोरोना भाईरसको माहामारिले गर्दा मेरो घुमघामको क्षेत्रै वदलिदियो । जसको कारण न्यूजर्सी , न्यूयोर्क, मेरिल्याण्ड र पेन्सिलभेनियाका प्राकृतिक सम्पदाहरु आफ्नै आखाँले हेरेँ , खुट्टाले टेकेँ, हातले छामेँ ,र श्वासमा श्वास मिलाएर अनुभूत गर्न पाएं । यसपटक घुमेका केही ठाउहरु छन् । यो आलेखमा सवै अटाउन सक्तैनन् । मौका मिलाएर लेख्दै गरुॅंला । हाम्रो फेवाताल जस्तै तालको वारेमा अलिकति लेख्न मन लाग्यो ।
जुलाई ८ ,तद्अनुसार असार २४ गते मेरिल्याण्डको नर्थ पोटोमाक्स स्थित एभलोन ट्रभिलवाट वीस पच्चीस मीनटमै पुगिने नीडउड ताल हेर्न गएं । ताल निकै सुन्दर लाग्यो । फेवा ताल जस्तै । फेवामा जस्तै वीचमा सानो टापु रहेछ । तर त्यहाॅं वाराही मन्दिर भने रहेनछ । मन्दिरको सट्टा झपक्क परेका रुखहरु छन् । तालको वरपरि घना जंगल छ । साना साना नदीको श्रोतहरुमा वाॅंध वाधेर ,वनाईएको उक्त ताल ७५ एकड क्षेत्रमा फैलिएको रहेछ । तालको गहिराई १३.३७ मीटर रहेको छ । जगलको वीचमा पर्यटकलाई केन्द्रित गरेर विकास गरिएको नीडउड तालको केही किनारहरुमा वाहिरवाट वालुवा ल्याएर ओछ्रयाईएको थियो र समुन्द्रको किनारमा झै पौडी खेल्ने र वालुवामा खेल्ने व्यवस्था गरिएको रहेछ । व्यवस्थित किसिमले वनेको योजना भएर होला कोरोना भाईरसले आक्रन्त पारेको वेलामा पनि तालको किनारमा मनिसहरुको जमघट कम
नीडउड तालसम पुग्ने चिल्ला सडकहरु छन् । व्यवस्थित पार्किंग स्थलहरु छन । विजुली ,स्वच्छ पिउने पानी र सन्चार नेटवर्कको राम्रो व्यवस्थापन गरिएको रहेछ । यो सवै व्यवस्थापन सरकारले गरेको हो । हुनत नेपालमा पनि यस प्रकारका कामहरु सरकारले नै गर्दछन । हाम्रोमा योजनाहरु सफल नहुदै अर्को योजना वन्छ । हामीहरु लहडको भरमा योजना वनाउने गर्दा रहेछौं । तर अमेरिकीहरुले त्यसो गर्दा रहेनछन् । पुरा काम योजना वध्द किसिमले काम गर्दा रहेछन । उदाहरण २४।२५ वर्ष अगाडि देखि फेवातालको सिमा छुट्टाउने भनि दर्जनौ समितिहरु वने । तर उनीहरुका रिपोर्ट कहाॅं गए थाहा छैन । नगर योजनाले नयाँ अध्यक्ष पाउना साथ पहिलो एजेण्डा फेवा ताल र वस पार्क विकास वनाउछन र सिन्को नभाची कार्यकाल सकेर विदा लिन्छन । यसो गर्दा गर्दै ताल सकिदै गयो । तालको किनार भुमाफिया द्धारा अतिक्रमित हुदै गयो । जग्गा खोज्ने नाममा सधै आयोग र प्रतिवेदनहरु वन्दै गए । पार्टिका केही कार्यकर्ताहरुले जागिर खादै गए, फेवा ताल सकिदै गयो । सर्वोच्च अदालतले दिएको आदेशलाई समेत शिरानीमा राखेर अर्को आयोग वनाउने वहादुरहरु थपिदै गए । वर्षेनी विकास खर्च वचाउने प्रेमिहरु छन । यसैवाट थाहा हुन्छ हामी काम गर्न सक्तैनौं , वजेट र प्रतिवेदन भने वर्षेनी वनाउन सक्तछौं ।
नीडउड घुमे पछि मेरो मनमा क्लिक गरेको कुरो के हो भने । फेवा ताललाई पनि वरी परि फुटट्य्राक वनाएर साईकिल र पैदल यात्राको व्यवस्थनपन गरि ठाउमा ठाउमा सेड वनार वस्ने खानेको प्रवन्ध गरिदिने हो भने कस्तो हुन्थ्यो होला ? नीडउड तालको वरिपरि वनेका फुटट्याक , साईकिल ट्याक छन् । वीच वीचमा ओत लाग्ने सेडहरु छन् पिकनिक गर्ने पार्कहरु छन् । मासु पोल्ने , रमाउने खेल्ने गर्दछन् । मासु पोलेर खाने तथा खाना वनाउने चुलोहरु पर्याप्त छन् । वालवालिकाहरु खेल्ने वाल मैत्री पार्कहरु छन् । युवा जोडीहरको लागि रम्ने ठाउहरुको उत्तिकै व्यावस्थापन गरिएको छ ।
विदाको समयमा रमाउने र हप्ताभरको कमाई खर्चने ठाउ वनाएर सरकारले व्यक्तिलाई खुसी वनाएर रकम असुल्दो रहेछ । हामी पनि फेवा तालको वारेमा गफ गर्नुको साटो काम गरेर जनतावाट रकम उठाएर फेवातालको विकासमा किन लगाउन सक्तेनौं भन्ने जिज्ञासा मनमा उव्जियो ।
हामीहरु गफ धेरै गर्दा रहेछौ ,सामान्य भन्दा पनि सामान्य काम पनि नगर्दा रहेछौ । अव त नीडउड तालको वरिपरि मानिस हिडनेर साईकिल गुडाउने ट्रयाक वनाए झै फेवा तालको वरिपरि पनि त्यस्तै ट्याक वनाएर पर्यटकलाई आकर्षित गर्न सके राम्रो हुन्थ्यो लाग्यो ? यति काम त गफ गर्दा गर्दै पनि हुन्थ्यो कि भन्ने लाग्यो । किन भने फुटट्य्राक सडक वनाए जतिको खर्च लाग्ने काम होईन । नीडउडमा झै ठाउ ठाउमा वस्ने खाने ठाउहरुको पर्याप्त व्यवस्था गरियो भने फेवाको किनारले पनि प्रसस्त कमाउन सक्ने थियो । त्यसो गर्न सकेमा हप्ताको विदा मनाउदा केही न केही खर्च गर्दथे त्यसवाट त्याहा गरेको लगानी छोटो समयमा उठाउन सकिन्थ्यो । जस्ले राज्यलाई फाईदा नै पुग्ने थियो । एकातिर पर्याटन विकास हुने अर्को तिर राज्यको आयश्रोत वढने जस्तो काम अव किन नगर्ने ?

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






