बहुरुपी प्राकृतिक सौदार्यतासँग रमाउन जैविक राज्य घोषित सिक्किम घुम्ने रहर पुरा गर्न हाम्रो जोडी होटेलको अफ सिजनको समय पारेर निस्क्यौं। सार्वजानिक यातायातमा स्थानीयहरुसँग मौलिकतामा रमाउने तथा केहि जानकारी पनि लिने मनसायले हामी पोखरा बसपार्कमा विहान ५ बजेको बस चढेर कांकरभिट्टा तर्फ लाग्यौं। लामो यात्राको सवारी साधन भएपनि बसको अवस्था एवं बीचमा नास्ता, खाना खाने ठाउँ र शौचालयको अव्यवस्थित पारा देखेर छक्क लाग्यो, फेरिपनि सिक्किम पुग्ने रहरलाई मनमा संगालेर बस्यौं। ड्राईभरले बस रोक्दै यात्रु झार्दै र चढाउदै दिउँसोको खाना खाने ठाउमा बस रोक्यो र हामी पनि झर्यौं। भोक धेरै लागिरहेको थियो तर खाना खाने होटेलको फोहोर र भन्केको माखा देखेर एउटा फ्रुटिमा चित्त बुझायौं। हामी बसको झ्यालबाट पूर्वी नेपालको सुनसरी सर्लाहीको खाली फाँटहरुमा आँखा नचाउदै र बसका यात्रुहरुसँग गफमा रमाउदै बेलुकी कांकरभिट्टा पुग्यौं। जब हामी बसबाट ओर्लिदै थियौं होटेल गाईडहरुले एकअर्कासँग गरेको खिचातानी र दादगिरी देखेर दंग पर्दै त्यहाँबाट निस्केर एउटा होटेलमा गएर बास बस्यौं।
भोलिपल्ट विहानै सिक्किम जाने जिपमा चढ्न रिक्सामा मेचीपुल तरेर भारतीय भूमिमा पुग्दा टिकट काट्ने ठाउँ, पसल सबैमा नेपाली भाषीहरुनै भेटियो। सिक्किम जाने जीप भरिनै नेपाली भाषीहरु थिए। उनीहरुसंगै जीपमा बजेको नेपाली गीत र यात्राको आनन्द लियौं। सलल परेको चिल्लो सडक दायाँवायाँ चिया वगान सिलगुडी बजारलाई छलेर जिप आफ्नै गतिमा थियो बाटोमा वेस्ट बंगालमा रहेको साहित्यकार पारिजातको अहिलेनै बोल्ला जस्तो ठुलो मुर्ति देखेर लाग्यो उनि मेरो पुरानो चिनजानकि मान्छे हुन् र मैले उनलाई धेरै दिन पछि भेटिरहेकी छु।

हामी निक्कै ठुलो जंगल काटेर टिस्टा नदीको किनारैकिनार पहाडको काखमा बसेको सानो बजार राम्पोमा पुग्यौं। रोम्पामा रोकिएको बेला फोनको सिम किन्न पसलमा जाँदा थाहा भयो हामी नेपालबाट गएको हुनाले यात्रा परमिट त्यहिंबाट लिनुपर्ने रहेछ। हामीले सोचेका थियौं ग्याण्टोक छिर्ने बेलामा बनाउने होला भनेर यदि हामीलाई मोबाइल पसले भाइले उक्त जानकारी नदिएको भए सायद हामी ग्याण्टोक पुगेर पनि परमिटकै कारण फर्कनु पर्ने थियो होला। यात्रा पूर्व सबै कुराको जानकारी स्पस्ट हुनुपर्छ ताकि यात्रामा हुने कठिनाइ हरु नआओस। परमिट लिने ठाउँमा सबै नेपालि भाषी थिए र मित्रवत पनि। मुस्लिमहरुको ठुलो चाड परेको हुनाले मानिसहरु कम थिए र घन्टौ लाईनमा बस्नपरेन। फर्किदा उनीहरुले दिएको चिट त्यहिं छोड्नु पर्ने रहेछ। काम सकेर हामी फेरी बाटो ततायौं।
समय घर्किदै थियो। पहाडको बाटो फराकिलो नभएपनि ओरिपरिको वातावरण रमणिय थियो। केहि छिनमा “वेलकम टु सिक्किम” भनेर स्वागत गरेको गेटलाई काटेर जिप विस्तारै उकालो लाग्यो। टाढैबाट पहाडमा बसेको त्यो बस्ति र शहर देखेर मनमा खुशी लाग्यो। यात्रु झार्दै चढाउदै जीपले हामिलाइ ग्यानटोक बजार पुर्यायो।
अनलाईनबाट होटेल बुक गर्न केहि समस्या भएकोले होटेलको लागि गाइडको पछि लागेर गयौं। प्राय: होटेलहरुमा बुद्धको मुर्ति वा थान्का राख्दा रहेछन् ।बुद्धत्व झल्किने खालको सजावट तर लबी जति आर्कर्षित देखिन्छ त्यसको तुलनामा कोठाहरु भने राम्रो थिएनन्। अध्यारोले पछ्याउदै आयो र अन्तिममा हामी एउटा होटेलमा एक रातको भारु ३६०० तिरेर बस्यौं। विहानैदेखिको थकाईलाई नुहाएर फ्रेस हुन खोज्दा चिसो ठाउँमा धारामा तातो पानी आएन। रिसेप्सनमा भन्यौ ं तर केहि सिप लागेन र चिसैपानीले नुहाएर हामी बाहिरको दृश्यहरु अवलोकन गर्न तैयार भयौं। टु स्टार सम्मको होटेलमा वाईफाई ब्रिग्रिएको अवस्थामा होला यो सोच्ने कुरा हैन तर त्यस होटेलमा त्यस्तै भयो। जेहोस, बेलुकीको खाना शहरको राम्रो दृश्य देख्ने ठाउमा गयौं र आनन्दले खायौ। खानापछि ग्याण्टोकको प्रख्यात ठाउँ महात्म गान्धी रोड पुग्यौं। वेलुकी पर्यटक मात्र नभएर स्थानीयहरु पनि त्यहाँको रमाईलोसँग रमाउन एमसी रोड आउदा रहेछ्न्। त्यहाँ बस्दा साच्चै मन आनन्द लाग्ने। गान्धीको ठुलो मुर्तिसँग फोटो खिचाएर होटेल फर्क्यौं।
विहान छिट्टै उठेर ब्रेकफास्ट लियौ र घुम्न तैयार भयौं। होटेलबाट नै ट्यासि एरेन्ज गरिदियो भारु १५०० मा चार घण्टा घुमाउने गरि। राम्रो कन्डिसनको ट्याक्सी चालक तामाङ भाई निक्कै मेहनती देखेर हामीलाई भरोसा लाग्यो। उसको सुझाब अनुसारनै हामी बढो सुन्दर ठाउँ झाक्री झर्नामा पुग्यौ। पानीको सुन्दर झर्नासँगै बनझाँक्रीको मुर्तिहरु अनौठो लाग्यो। त्यसपछि भ्यु पोईण्ट गयौ र त्यहाँबाट शहर साथै हिमालको मनमोहक दृश्य हेर्यौ। केहि किनमेल गरेर तल बौद्ध गुम्बा गयौं। पहाडको त्यो सुनसान ठाउँमा त्यत्ति ठुलो बौद्ध गुम्बा देखेर अचम्मै लाग्यो।अरु ठाउँहरु पनि घुम्दै अन्तिममा फ्लावर कन्जर्भेसनमा गयौ। विभिन्न थरिका सुन्दर फूलहरुको बगैचा देख्दा मन थाम्न नै गाह्रो भो मलाई त। फोटोग्राफरले मलाई फोटो खिचिदियो एकसय मात्र भन्यो ठिकै हो भन्ठाने तर भरे निस्कदा त दुईपत्ता फोटो बनाएर दुईसय माग्यो। बाहिर गार्डेनमा आएर सिक्किम ड्रेस लगाएर फोटो खिचे र होटलतिर लाग्यौं।
भारतको २२ औ एवं सबभन्दा सानो राज्य सिक्किमको जनसंख्या झन्डै ६.५ लाख रहेछ। त्यहाँको मुख्य वा आधिकारिक भाषा नेपाली तर राज्यमा संस्कृति र परम्परा संरक्षणको उद्देश्यले गुरुङ, लिम्बू, मगर, माखिया, नेवारी, राई, शेर्पा र तामाङमा थप आधिकारिक भाषाहरू समावेश रहेछन् तर केहि निश्चित क्षेत्रमा सिक्किम (भूटिया) लाप्चा बोल्दोरहेछ। हामीलाई घुमाउने गाडी चालक संग त्यहाको विभिन्न सांस्कृतिक, राजनीतिक बिषयमा जिज्ञाशा राख्यौं। उनले स्पस्ट संग हाम्रो प्रश्नको जवाफ दिन्थे। उनमा व्यवसायिकता त छदै थियो त्यो संगै विभिन्न विषयहरु जुन वाह्य पर्यटकको लागि चासो हुन्छ, त्यसमा जानकार पनि थिए। पर्यटन व्यबसायी भएको हुनाले एउटा कुरा मनमा लाग्यो, हाम्रो पर्यटकीय स्थलमा रहेका सार्वजनिक सवारी चालकहरु लाई पनि आफ्नो परिवेश, भूगोल, सामाजिक, संस्कृतिक पक्षको बिषयमा ज्ञान हुने हो भने पर्यटन प्रबर्धनमा पक्कै टेवा पुग्ने थियो। त्यसको लागि पर्यटन संग सम्बन्धित सरोकार वालाहरुले सवारी चालकहरुलाई यस्ता विभिन्न बिषयमा तालिम र प्रसिक्षण दिनु पर्छ जस्तो मलाई लाग्छ।
सिक्किमको एउटा कानुन रहेछ। घरजग्गा किन्न बेच गर्न राज्यको नागरिक परिचयपत्र चाहिने रहेछ। हाम्रो चालकको व्यवसाय गर्न पाउने कार्ड मात्र रहेछ। उनले स्थानिय महिला संग बिहे गरेका रहेछन तर बैबाहिक सम्बन्धको आधारमा महिला वा पुरुषले राज्यको नागरिक परिचयपत्र पाउने व्यवस्था रहेनछ।
विभिन्न स्थलको भ्रमणपछि हामि एमसी रोड पुग्यौं। किनमेल सकेर होटेलबाट चेकआउट गरि नेपाल प्रस्थान गर्न बसपार्क गयौं। यातायातको सुबिधा राम्रै रहेछ हामीले सिलगुढीको बस पायौं। बस समयमा नै हिड्यो। परमिट फर्काउनु पर्ने भएकोले रोम्पामा एकछिन रोकियौं। सिलगुढी आईपुग्दा निक्कै साँझ परिसकेकोले हामीले सानो भ्यान रिजर्भ गर्यौं। सलल परेको बाटो एकनासको रफ्तारमा गाडी गुड्दै रातारात मेचीपुल तरेर काकरभिट्टा आईपुग्यौं। हाम्रो जोडीको सार्वजानिक यातायात सेवामा भ्रमण गर्ने रहर सिक्किमले सधैको लागि पुर्याईदियो। सभ्य र सफा राज्य सिक्किमको परमिट बनाउने झन्झट त्यहिमाथि प्रिन्टर समेत नभएको अफिस। फर्केर आउदा दिएको परमिट बुझाउनुपर्ने केहि झन्झटिलो तर समग्रमा यात्राको सबै अनुभव रोमान्चक रह्यो।
सिक्किम पुग्दा जो कोहिले पनि एक स्वतन्त्र र शान्ति राज्यमा पुगेको महसुस सजिलै गर्न सकिन्छ। यसको पछाडी यस राज्यको गहिरो ईतिहास जोडिएको छ। सन् १७ औं शताब्दीमा नैनिङ्गल राजवंशद्वारा सिक्किम राज्य स्थापित गरेको थियो। यो राज्य एक बौद्ध पुजारी राजाद्वारा शाही शासनको रूपमा शासन गरिरहेको समयमा, सन् १८९० मा बेलायत भारतको एक राजकीय राज्य बनेको थियो। सन् १९४७ पछि सिक्किमले भारतको गणतन्त्रसंग आफ्नो संरक्षित स्थिति जारी राख्यो। जब १६ मे, १९७५ मा सिक्किम औपचारिक रूपले भारतीय गणतन्त्रको २२ औं राज्य बन्यो र सिक्किम भारतको भाग भए तब नैनिङ्गल राजवंशको शासन सदाको लागि समाप्त भयो। सिक्किम एक यस्तो राज्य हो जहाँ २५ वर्ष सम्म पवन चामलिङ मुख्य मंत्री रहे। नेपालमा भन्दा स्पष्ट र मायालु तरिकाले नेपाली बोल्ने सिक्किमेलीहरुसँग अपनत्व महसुस हुनु स्वाभाविक कुरा हो। उनीहरु र हाम्रो विच गहिरो सम्बन्धको महसुस पनि गराउछ सिक्किम पुग्दा। त्यहि माथि सिक्किमबाट हामीले सिक्न सक्ने धेरै कुराहरु छन्। सिक्किम यात्रा एक भावानात्मक र प्रेरणादाई यात्राको रुपमा मानसपटलमा रहिरहनेछ।
यात्रा संस्मरण
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






