भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन्। उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे। ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे। भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन्। त्यसैले, भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो।
मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ’आदिकवि’ त्यतिसारो चलेन। १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जिभ्रोमा भानुभक्त आदिकवि हुन थाले। अनि सूर्यविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे।
मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे। अनि, त्यस मितिलाई सच्याएर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको ठोकुवा गरेर १९९८ सालमा ‘भानुभक्त मणिमाला’ नाउँको किताब निकालिन्। त्यस कितावमा भानुभक्तले नै बनाएको जन्मकुण्डली र जन्मकुण्डली उपर उनैले लेखेको श्लोक भनेर पनि पेस गरियो। तर, उक्त श्लोक र कुण्डली भानुभक्तबाट नै तयार भएको भन्नेबारे कुनै प्रमाण देखिदैन। वास्तवमा कुनैपनि ब्राम्हणको निधनसँगै जन्मकुण्डली चितामा जलाउने हिन्दू परम्परा नै छ। त्यसमाथि भानुभक्त त पण्डित नै थिए। त्यतिमात्र होइन उनको जन्मकुण्डली जोगाएर राख्नुपर्ने कुनै कारण नै थिएन। अनि, त्यतिखेर उनी आदिकवि पनि थिएनन्। तर, उनको निधनको ७३ बर्ष पछाडि भानु जन्मकुण्डली प्रकाशित हुनुको अर्थ के हो ? मोतीराम पछाडिका लेखकले भानुजीवनी लेख्ने क्रममा यस्ता अनेक नाटकीय दस्तावेज प्रस्तुत गर्दै आए। नरनाथ आचार्यले पनि मोतीरामलाई खसाल्ने काम नै गरेको देखिन्छ।
त्यतिमात्र होइन विष्णुमायादेवीबाट प्रस्तुत भएको भानुभक्तको जन्म श्लोक र जन्म कुण्डली सहितका प्रायः धेरै दफामा उनले पनि आफ्नो बुढी औठा थिचे। त्यसपछि प्रायः अरुहरु आचार्य पनि धुरिएर विष्णुमाया र नरनाथकै साक्षीमा नै मौजुद देखिए। वास्तवमा त्यस बेहोराले भानुभक्तबारेका तथ्यहरु कुन ठीक र कुन बेठीक भनेर छुट्याउन गाह्रो पर्न थाल्यो। कतिसम्म भने आचार्य खलकबाट नै भानुभक्तका कवितामा समेत पाठभेद हुन थाल्यो। अन्ततः नेपाल सरकारबाट भानुभक्त आचार्य द्विशतवार्षिकी कार्यक्रममार्फत नरेन्द्रराज प्रसाईकृत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक जीवनीकृति २०७१ सालमा प्रकाशित भएपछि थुप्रै जिज्ञासाको सावधान हुन थाल्यो।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो। त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो। तर, भानुभक्तले नेपाली भाषालाई आफ्नो शीरको ताज बनाए। उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे। एक पटक काशीका एक जना विद्वानले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिएः
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने। किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको काशीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए। त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो। त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे। पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए। भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवीको छोराको रूपमा भानुभक्त जन्मे। तर , आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए।
भानुभक्तलाई टाउकोमा राखेरै मोतीराम पनि चम्किए। वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे। भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने अनेक कला झिके। नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए। मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पु¥याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे।
त्यसैले उनले भानुभक्तलाई आफ्नो चरित्र नायकका रूपमा काँधमा बोके। वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शीरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे। तर, भानुभक्तकी नातिनी विष्णुमायादेवीबाटै मोतीरामलाई छोप्ने षड्यन्त्रको सुरुवात हुन थाल्यो। ऋनि, त्यस कलामा आबद्ध हुन अरु आचार्यहरु पनि त्यति चुकेका देखिएनन्। उनकी नातिनी विष्णुमायादेवीको कृति ‘भानुभक्त मणिमाला’मा त मोतीरामको ‘मो’ पनि उच्चारण गरिएको पाइँदैन।
भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए। तर, उनका हाकिमले २ वर्षमै उनको जागिर खोसे। त्यसपछि, उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो। अनि, उनलाई कुमारीचोकको खोरमा थुनियो। लेखकका लागि जेलयात्रा वरदान बन्यो। उनले त्यहाँ ५ महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो। त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन। भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो। वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए। अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो। त्यसैले, रात २ गुना र दिन ४ गुनाले भानुभक्तको रामायणले नेपाली बस्ने बस्ने देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले नेपाली भन्ने शब्दको प्रतिपादकका रूपमा ग्रहण गरेका छन्। अनि नेपालमा भन्दा धेरै भारतमा भानुगाथा गाइन्छ। भारतको पनि दार्जिलिङ जिल्ला र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ। त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन्। त्यस दिन नर्सिङ्गा, ट्याम्को दमाहा र झ्याम्टाले त्यस ठाउँ गुन्जिएको हुन्छ।
वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ। कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ। त्यताका नेपाली गोरखालीका लागि भानुजयन्ती दसैँभन्दा पनि ठूलो चाड मानिन्छ। वास्तवमा दार्जिलिङमा भानुजयन्ती मनाउन थालेपछि मात्र नेपालमा पनि भानुजयन्ती मनाउने परम्पराको थालनी भएको हो।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन्। उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे। ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे। भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन्। त्यसैले भानुभक्तकृत ‘रामायण’लाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनिन्छ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे। भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे। भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ।
भानुभक्तले रामायणको बालकाण्ड समेत ७ काण्ड, प्रश्नोत्तर लघुकाव्य, भक्तमाला, वधूशिक्षा र रामगीतानामक कृतिहरू नेपाली भाषासाहित्यको क्षेत्रमा दिए। साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ। उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पा¥यो। ऋनि, त्यही रामायणले नेपाली भाषालाई समेत लोकप्रिय बनायो। वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो। सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पा¥यो। नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ’रामगीता’को नेपाली भाषामा अनुवाद गरे। वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए। तरपनि, उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाएर नै छाडे। अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ साल असोज ६ गते भानुभक्तको देहावसान भयो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






