पुष्पलालका प्रिय कम्युनिष्ट हस्ती बलराम उपाध्याय : जो सँधै ओझेलमा रहे


     झपटबहादुर रानाभाट    
     जेठ २५ गते २०८० मा प्रकाशित




नेपाली बाम लोकतान्त्रिक आन्दोलनका अविष्मरणीय योद्धा दिबङ्गत बलराम उपाध्याय तिमिल्सिनाको आज १७ औं स्मृति दिवस । वहाँप्रति हार्दिक श्रद्दासुमन,पोखरा -१६ ,बाटुलेचौरमा वहाँको सिङ्गै तिमिल्सिना परिवारप्रति हार्दिक अभिनन्दन ।

     नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालका २०१० सालदेखि नै यति नजिक कि,एउटा सीधा रेखाका सबैभन्दा नजिकका दुई बिन्दु जस्तै नजिक ,निकटस्थ र सबैभन्दा नजिकका सहयोगी। वास्तव मै पुष्पलालको लालनपालन नै बाचुन्जेल बलराम उपाध्यायले गर्नुभो। २०३५ सालको शुरुवाती दिनसम्म प्रायः  सबै नेता र कार्यकर्ताले पुष्पलाललाई छोडे पनि वहाँले पुष्पलाललाई कहिल्यै छोड्नुभएन,घात गर्नुभएन। यहाँसम्म कि,सफेद,सादा कुर्था र पाइजामामा हुने क. बलरामले बनारसमा आफूले बिद्यार्थी जम्मा गरी ट्युसन र कोचिङ्ग पढाएको पैसा समेत राखनधरन र खर्च गर्न पुष्पलाललाई दिनुहुन्थ्यो। त्यस्तै २०२४/२५ सालतिर तत्कालीन स्याङ्जाको कृस्तीनाच्नेचौरबाट नेकपा तत्कालीन स्याङ्जा जिल्ला कमिटी सित सम्बन्धित लेबि,सदस्यता शुल्क र पुष्पलालका छोरालाई समेत काठमाडौ पुगेर बनारस लैजाने काम तत्कालीन  कृस्तीनाच्नेचौर,शिवालय -फोक्सिङ्ग,निर्मलपोखरी,भोटेपोखरी र भरतपोखरी पन्चायत का बलराम उपाध्याय र पुष्पलालका निकै सहयोगी अग्रज कम्युनिस्ट नेता यमनाथ आचार्य(पोखरा -२१, कृस्ती,स्यार्तूम) ले गर्नुहुन्थ्यो भन्ने इतिहास पाइन्छ। २०३० /३१ सालको वरिपरि वहाँ यमनाथ आचार्य बेखबर /बेपत्ता भएको पाइन्छ ।  तत्कालीन बलराम उपाध्यायलाई चिन्ने र वहाँप्रति श्रद्धा र सद्भाव राख्ने संघर्ष हामी सबै नेपालीहरुको लागि खुशीको कुरा हुनु पर्दछ,यतिबेला बलराम र पुष्पलालका निकै सहयोगी यमनाथ आचार्य,शेषराज आचार्य (तनहुँ ) जस्ता अग्रज कम्युनिस्टहरु र वहाँहरुका परिवारलाई पनि स्मरण ,श्रद्धा र सम्मान गर्नु पर्दछ।

      आजकल हाम्रो जस्तो नितान्त स्वार्थी एवं उपभोक्तावादी प्रवृत्तिले ग्रस्त समाजमा सदाचार र नैतिकताजस्ता मानवीय गुणहरु महत्वहीन हुन गएका छन् । यसले गर्दा सामाजिक, राजनीतिक तथा प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका निष्ठा र प्रतिबद्धताका प्रतीक हाम्रा कतिपय अग्रजहरु इतिहासको अथाह गर्तमा हराएका छन् भने कोही हराउने अवस्थामा छन् । यस्ता अग्रज व्यक्तित्वहरुमध्ये एक बलराम उपाध्याय (बलराम दाइ) हुनुहुन्छ  । वहाँको जन्मथलो कास्की पोखरा-१६ को बाटुलेचौर भए पनि वहाँको कर्मथलो भने बनारस (भारत) हुन गयो, जहाँ वहाँले विसं २०१० सालदेखि ३० को दशकसम्म क.पुष्पलालको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउने काम गर्नुभयो ।

    विसं २०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्थामाथि कत्लेआम गर्दै बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्त  गरी राज्यसत्ता आफ्नो हातमा लिएपछि तत्कालीन राजनीतिक दलहरु र दलीय राजनीतिक गतिविधिहरु पूर्णतः प्रतिबन्धित भए । जसका कारण नेपालका राजनीतिक दल विशेष गरेर नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीर तिनका गतिविधिहरुको मुख्य  केन्द्र बनारस हुन गयो । वि.सं .२०१७ साल वरिपरि नेपालका विभिन्न स्थानहरु जस्तै कास्की ,भोजपुर, ताप्लेजु·, धरान, विराटनगर, गोरखा, लमजुङ, तनहुँ , स्याङ्जा, पाल्पा, गुल्मी, दाङ, प्यूठान लगायतबाट अध्ययनका लागि बनारस जाने विद्यार्थीहरुको घुइँचो लाग्थ्यो । बनारसमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरु मुख्यतः दुई  खेमामा विभाजित थिए- काङ्ग्रेस पक्षधर र नेकपा पक्षधर । ती विद्यार्थीहरु विभिन्न किसिमका शैक्षिक, सांस्कृतिक कार्यक्रमहरुका साथै आ -आफ्ना आस्था अनुसार पंचायती व्यवस्था विरुद्ध राजनीतिक गतिविधिहरुमा पनि संलग्न हुन्थे ।

    यसरी नेपालबाट अध्ययनका लागि बनारस गएका  सम्पूर्ण विद्यार्थीहरु माझ बलराम उपाध्याय (बलराम दाइ) अत्यन्तै प्रिय र सुपरिचित हुनुहुन्थ्यो । उनीहरुका लागि बस्ने डेरा तथा ट्युसन पढ्ने विद्यार्थी खोजी दिने, भर्ना गरिदिने आदि सहयोगात्मक काम गरिदिने हुँदा वहाँ नेपाली विद्यार्थीहरुको एउटा भरपदो संरक्षक र अभिभावकको रुपमा स्थापित हुनुभएको थियो । तर ,बलराम उपाध्यायलाई चिन्न र जान्नका लागि त्यति नै पर्याप्त छ भन्न खोजेको भने अवश्य होइन ,वहाँले चाहेको भए पुष्पलाल पछाडि नेकपा को महासचिव नै हुन सक्नुहुन्थ्यो भलै पुष्पलालले नेतृत्व गर्नुभएको कम्युनिस्ट पार्टीमा बारम्बार बलराम कार्यबाहक महासचिव हुनुभो। बलराम दाइ नेपाली बाम लोकतान्त्रिक  आन्दोलनका एक अथक योद्धा हुनुहुन्थ्यो । विदेशमा रहेर पनि नेपाली कम्युनिष्ट आन्दोलनमा वहाँको योगदान जेलनेलको प्रमाणपत्र लिएका यहाँका कुनै नेताको भन्दा कम थिएन ।        

     प्रायःजसो एकसरो सेतो कुर्था र पाइजामामा देखिनु हुने बलराम दाइ बनारसको गल्ली गल्लीमा डुल्दै नेपाली विद्यार्थीहरुलाई संगठित गर्ने, मार्क्सवादी सिद्धान्त र विश्व कम्युनिष्ट आन्दोलनबारे उनीहरुलाई जानकारी दिन विभिन्न ठाउँमा छुट्टै कक्षाको व्यवस्था गर्ने र नेपालमा लादिएको  निरंकुश तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध उनीहरुलाई गोलबद्ध गर्ने वहाँको मुख्य अभियान थियो ।

      यिनै प्रयासका फलस्वरुप: वहाँले मार्क्सवादी चिन्तन या कम्युनिष्ट विचारधाराले ओतप्रोत एउटा नयाँ पुस्ताको निर्माण गर्नुभयो र आज पनि नेपालमा वामपन्थी हुँ भन्नेहरुको ठूलो जमातभित्र सैद्धान्तिक ज्ञान भएका या द्वन्द्वात्मक भौतिकवादी चिन्तन बोकेका कोही छन् भने बलराम उपाध्याय तिमिल्सिना द्वारा दीक्षित र शिक्षित बामपन्थीहरु नै ठूलो सङ्ख्या र अग्रपंक्तिमा देखिन्छन् ।

    बनारसमा बसेर नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने काममा बलराम कमरेड एक्लो भने हुनुहुन्नथ्यो । वहाँका समर्थक, सहयोगी र सहकर्मीहरुमध्ये शिवप्रसाद भट्टराई, भेषराज शर्मा, हिक्मतजंग भण्डारी, पदमराज शर्मा, गणेशराज शर्मा (पछि नेका समर्थक), महेशकुमार उपाध्याय, इन्दुप्रकाश उपाध्याय, यज्ञप्रसाद आचार्य (पञ्चायत प्रवेश), बल्लभमणि दाहाल (पञ्चायत प्रवेश),शेषराज आचार्य  आदि उल्लेखनीय नाम हुन् । यिनीहरुको सहयोग र सहकार्यबाट बलराम उपाध्यायले नेपाली विद्यार्थीहरुलाई संगठित गरी समय- समयमा साहित्यिक गोष्ठी, वादविवाद, सांस्कृतिक कार्यक्रम, पत्रिका (छात्रदूत, छात्रवाणि, उजेली) प्रकाशन आदि कार्यक्रमहरु पनि संचालन गर्नुहुन्थ्यो ।

     विसं २०४६ सालमा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर बहुदलीय संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र स्थापना भयो । त्यसपछि भएको आमचुनावमा बलराम दाइलाई आफ्नो गृहजिल्ला कास्कीबाट प्रतिनिधिसभाको सदस्यको लागि चुनाव लड्ने जोहो भने मिलेन । किनकि ,२०४७ साल पौष २६ गते क. मदन भण्डारी ले नेतृत्व गर्नुभएको तत्कालीन नेकपा माले र क. पुरानो इतिहास बोकेका मनमोहन ,साहना प्रधान र भरतमोहन,बलरामले नेतृत्व गरेको नेकपा मार्क्सवादी एकता पछि कास्कीमा तत्कालीन नेकपा मालेको बढी घनत्व देखियो,साङ्गठनिक रुपले बलियो पनि थियो,२०४८ बैशाख २९ गते भएको आमनिर्वाचनना त्यसको प्रभाव पर्नु  स्वाभाविक नै थियो  र वहाँलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत  गरियो । 

    जेहोस्, नेपाली कम्युनिष्ट आन्दोलनका अविश्रान्त  योद्धा दिबङ्गत बलराम उपाध्यायको नाम अमर राख्नका लागि केही न केही  प्रयासहरु हुनु अपरिहार्य छ,किनकि बिगत नहुनेको वर्तमान हुन्न,वर्तमान नहुनेको भविष्य हुन्न। विभिन्न कम्युनिस्ट घटकहरुले बलराम जस्ता कम्युनिस्ट  हस्तीहरुको   इतिहासबाट महत्त्वपूर्ण पाठ सिकी समग्र नेपाली कम्युनिस्ट आन्दोलनको सवलीकरण र पृष्ठपोषणमा आफूलाई समाहित गर्नुपर्दछ।

     दिबङ्गत बलराम उपाध्यायको १७ औं स्मृतिमा वहाँप्रति हार्दिक सम्मान र रातो सलाम व्यक्त गर्दछु।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।