कोपिला बालगृहको सामाजिक परीक्षण सम्पन्न, उत्कृष्टताकालागि थप सुधारमा जोड


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८२ मा प्रकाशित




पोखरा । कोपिला बालगृहले आ.ब. २०८१/८२ को सामाजिक परीक्षण सम्पन्न गरेको छ। परीक्षणमा संस्थाको आर्थिक, सामाजिक, शैक्षिक, खानपान, बालबालिकाको स्वास्थ्य र व्यवस्थापकीय पक्षका बारेमा विस्तृत समीक्षा गरिएको थियो ।

प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले “बालगृह अन्तिम विकल्प भएकोले सिधै बाल गृहमै ल्याउन जोड दिन नहुने बताउनु भयो । “केहि सिप नचलेपछि बल्ल यहाँ ल्याउने हो। ल्याए पछि पनि बिच बिचमा पारिवारिक भेटघाटलाई बाक्लो बनाउन आवश्यक छ”, भन्दै शर्माले सामाजिकरणमा जोड दिनुभयो। उहाँले १८ वर्ष नाघेका बालबालिकालाई रोजगारी र सीप विकास तालिमका लागि बिकल्प नेपाल जस्ता संस्थासँग “टाइ–अप” गर्न सकिने सुझाव पनि दिनुभयो।शर्माले धेरै स्पष्टसॅंग सामाजिक परीक्षण भएको बताउदै सामाजुक लेखाजोखा परीक्षक दीपेन्द्र श्रेष्ठलाई धन्यबाद दिनुभयो । उहाँले आफू लामो समयदेखि बालबालिका र महिला सशक्तिकरण सामाजिक क्षेत्रमा रहे पनि यति राम्रो बाल गृहमा आफ्नो उपश्थिति हुन नसकेकोमा छुटेको अनुभूति भएको बताउनु भयो ।
शर्माले भन्नुभयो, “संस्थाको सबै कुरा राम्रो छ । यसले बालबालिकाको सर्बोत्तम हितलाई ध्यान दिनु जरुरी छ ।बाल गृहमा बच्चा राख्ने नाममा कसैले पनि अन्य जिल्लाबाट ओसार पसार गर्न पाइदैन । र होस्टलमा राख्ने भनेर भेडाबाख्रा जस्ता राख्न पाइदैन । पारिबारीक सामाजिक भेटघाटलाई अलि बाक्लो बनाई दिऔं ।यसले सामाजिकिकरणमा सघाउछ । बिपदको बेला के गर्ने भनेर पनि योजना बनाउनु होला । रोजगारी सिप बिकास तालिममा सूचना निस्किएको बेला बाल गृहका ब्यबश्थापकले पनि समन्वय गरिदिनु होला ।जन्म दर्ता र नागरिकताकालागि एउटा चिर्कटो मात्र प्रमाण भए पनि हामी सहजिकरण गर्छौं ।”
विशेष अतिथि राष्ट्रिय बाल अधिकार परिषदका गण्डकी प्रदेश बाल समन्वय अधिकारी बद्रिप्रसाद वाग्लेले कोपिला बालगृहको रिजर्भ फन्ड आफूले अनुगमन गरेको बागमती र गण्डकी प्रदेश भरिमा उत्कृष्ट रहेको उल्लेख गर्दै “नयाँ कार्य समितिलाई यसले तय गरेको गुणस्तरलाई अगाडि बढाउने चुनौती छ” भन्नुभयो। ! उहाँले सोसल अडिटको क्रममा ऐनमा तोकिएका मापदण्डको मसिनो गरि केलाएर कस्तो अवश्थामा संस्था छ प्रष्ट पारिदिनुभएकोमा धन्यबाद दिदै केहि पोलिसी रिभ्यु गरिदिनु पनि अनुरोध गर्नुभयो ।
पूर्व आश्रित विद्यार्थी शरण बिकले “कोपिला बालगृह हाम्रो जन्मदाता हो, यहाँ हामीलाई परिवारकै सदस्यझैँ व्यवहार गरिन्छ।” भन्नुभयो ।
शितलादेवी टोल विकास संस्थाकी अध्यक्ष सुशिला श्रेष्ठले बालगृह समुदायसँग जोडिनु सकारात्मक भएको बताइन्। पोखरा युनाइटेड एकेडेमीका भाइस प्रिन्सिपल गोबिन्द चापागाईंले बालबालिकाको अध्ययन उत्कृष्ट भएको बताउदै बिद्यालयको स्पोर्टस टिममा बालगृहका बाबु नानी पर्ने गरेको बताउनु भयो । उहाँले बाल गृहले आफै टुर लगे पनि बिद्यालयको गतिविधिमा पनि बाल गृहका बाबु नानी पनि अन्यसॅंगै अझै सक्रिय बनाउनुपर्ने सुझाव राख्नुभयो ।

कोपिला नेपालका सल्लाहकार एकदेब देबकोटाले संस्थाको प्रगति, ब्यवश्थापन र सुशासनप्रति खुसी ब्यक्त गर्दै १९ बर्षमा संस्थाले लामो फड्को मार्दै यहाँ आईपुगेको स्मरण गर्नु भयो । उहाँको भनाई थियो, “असल नागरिक बनाउने सपना आज पुरा भएको छ ।मसिनो गरि सोसल अडिट प्रस्तुत भयो परीक्षक दीपेन्द्र श्रेष्ठलाई धन्यबाद छ ।”
बाल हेल्पलाइनका शंकर नेपालीले पठाइएका बालबालिकाको राम्रो संरक्षण भएको भन्दै सुरक्षण कोषमा गरेको बचतप्रति खुसी व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाकी बाल कल्याण अधिकारी बेलकुमारी गरुङले कानुनी अभिलेख व्यवस्थापनकालागि फलो अफ गरेकोमा बालगृहका कर्मचारीको सिन्सियरिटीको प्रशंसा गर्नुभयो ।

निष्कर्ष :

३६ जना क्षमताको बालगृहमा १४ बालक र १७ बालिकासहित ३१ जना आश्रित छन्। आ.ब. २०८१/८२ मा २ नयाँ बालबालिका भर्ना भएका र १ जना बालबालिका (कबिर छेत्री) पारिवारिक पुनर्मिलनमार्फत मावली हजुरआमाका घर फर्किएका छन्।
सो आ.ब. मा दाताबाट प्राप्त रकम रु. २,४८,४२,७८८।८५ र आन्तरिक स्रोत (बैंक व्याज तथा सदस्यता) बाट रु. ९,९२,९४९।१९ सहित कुल आम्दानी रु. २,५८,३५,७३८।०४ रहेको छ। रु. २,१२,३२,१८१।५३ खर्च भएको बताइएको छ । संस्थाले सुरक्षण कोषमा रु. १ करोड २० लाख र जगेडा (फिक्स्ड डिपोजिट) कोषमा रु. ६० लाख सुरक्षित राखेको छ। बालगृहमा २ सुरक्षित आवासीय भवन, पुस्तकालय, खेलमैदान, ICT कक्ष, पौष्टिक आहार र नियमित स्वास्थ्य परीक्षणको राम्रो व्यवस्था रहेको देखिएको छ।
कार्यक्रममा मेन्टल र करियर काउन्सेलिङलाई अझ विस्तार गर्नुपर्ने सिफारिस गरिएको छ। अपांगमैत्री संरचना अझै पूर्ण नभएको र मानसिक स्वास्थ्य सेवा अझ सुदृढ बनाउनुपर्ने सुझाव दिइएको छ।
सो बर्ष ३७ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ भने १३ जनालाई उच्च शिक्षामा सहयोग गरिएको छ। करियर १ जना बालबालिकाको पारिवारिक पुनर्मिलन भए पनि यसलाई अझ निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।
सामाजिक पकीक्षण (आ.ब. २०८१/८२) मा संस्थाको सुशासन, पारदर्शिता र बालबालिकाको हितमुखी कामको प्रशंसा गर्दै मोडल बाल संस्था बन्नकालागि थप सुधारका केही सुझावहरू पनि प्रस्तुत गरिएका थिए । सामाजिक परीक्षण प्रतिवेदनले गुनासो तथा सुझाव व्यवस्थापनलाई व्यवस्थित बनाउन गुनासो सुनुवाई उप समिति नै गठन गर्नुपर्ने सिफारिस गरेको छ। त्यस्तै, कर्मचारीलाई सामाजिक सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनु पर्ने आवश्यकता औंल्याइएको छ।

बिपतको परिस्थिति वा आकस्मिक अवस्थालाई व्यवस्थापन गर्न विशेष जोखिम व्यवस्थापन नीति तयार गर्नुपर्ने उल्लेख गर्दै, आश्रित बालबालिकाको पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलन गतिविधि थप सक्रिय बनाउनुपर्नेमा जोड दिइएको छ। साथै, दातामुखी गतिविधि मात्रैमा निर्भर नरही संस्थागत आत्मनिर्भरता बढाउने र आयमूलक कार्यक्रम अघि बढाउनुपर्ने सुझाव अडिटमा समावेश गरिएको छ। त्यस्तै प्रदेश र स्थानीय सरकारसँगको सहकार्य अझै मजबुत बनाउनुपर्ने पनि उल्लेख गरेको छ। प्रस्तुत सुधारात्मक सिफारिसहरू कार्यान्वयनमा आए संस्थालाई अझ पारदर्शी, आत्मनिर्भर र बालबालिकाको सर्वोत्तम हितमा केन्द्रित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सामाजिक परीक्षणले कोपिला बालगृहले वैधानिकता, पारदर्शिता र बालबालिकाको हितलाई प्राथमिकतामा राख्दै आएको पुष्टि गरेको सहभागिले बताए । तर अपांगमैत्री संरचना, मानसिक स्वास्थ्य सेवा, करियर काउन्सेलिङ, पुनर्स्थापना कार्यक्रम र दीगो आयमूलक योजना अझ सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ। कार्यक्रममा उठेका सवालप्रति प्रबन्ध निर्देशक रमिला श्रेष्ठले प्रष्टोक्ति र सुधारको प्रतिबद्दता गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष डा. सुरजितसेन ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य सन्तोष अधिकारीले र सञ्चालन सचिब सुरेशकुमार मानन्धरले गर्नु भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।