चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०८२ मा प्रकाशित




पछिल्लो समय एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ ।

कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार चलचित्र परानले करिब रु १७ करोडको व्यापार गरेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा रु १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ । बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेता र केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।

साथै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएका चलचित्र ‘जेरी अन टप’ ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै रु १२ करोड २६ लाख छ हजार २४० को व्यापार गरेको छ । अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन र सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी रु छ करोड २३ लाख ६९ हजार २०० को व्यापार गरेको छ । दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय रहेको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ ।

बाल गायकका रुपमा परिचित अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार गरिएको चलचित्र ‘मनबिनाको धन’ ले सोही अवधिसम्म रु तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ । टङ्क बुढाथोकीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन् । गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा गायक दर्जीसँगै नीता ढुङ्गाना, सरोज खनाल, एआर बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।

यही मङ्सिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा रु २८ लाख दुई हजार ३४६ को व्यापार गरेको छ । एकता पौडेलले निर्देशन गरेकी उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन् ।चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।