माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएको छ ।
माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै चलचित्रका निर्माता तथा निर्देशकले चलचित्रले दर्शकको साथ पाउने अपेक्षासहित चलचित्र प्रदर्शनमा ल्याएका हुन् । यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन् । चलचित्र ‘भाइरल गोर्खे’को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको छ । सामाजिक सञ्जालको बढ्दो दबदबाबीच ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने अभिनेता सौगात मल्लले बताए । ‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने जनाउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उनले बताए । निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गरेका छन् ।
आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘मिरमिरे’मा बुवा र छोरीबीचको सम्बन्धको कथा देखाइएको छ । अभिनेता दयाहाङ राईले चलचित्रले सामाजिक विषयसँगै भावनात्मक सम्बन्धका विभिन्न पाटालाई समेटेको बताए । उक्त चलचित्रका निर्देशक यम शेर्पाले विषयवस्तु नयाँ र मौलिक रहोस् भन्ने उद्देश्यले सबै कलाकारसँग समन्वय गरी छोटो समयमा चलचित्र तयार गरेको बताए । यार्सा फिल्म्सद्वारा निर्माण गरिएको ‘मिरमिरे’मा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्र ‘गोबर गणेश’लाई ‘बल्छी धुर्वे’ का रूपमा चिनिएका कलाकार मरिचमान श्रेष्ठले निर्देशन गरेका छन् । उनकै मुख्य भूमिका रहेको उक्त चलचित्रमा आमालाई खुसी पार्ने सपना बोकेर गाउँको एक ठिटो सहरमा आएपछि हुने उतारचढाव देखाइएको छ । उक्त चलचित्रमा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।
तीन नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएता पनि चलचित्र भवनमा दर्शकको चाप देखिएको छैन । प्रायः बिदाको समयमा चलचित्रले राम्रो व्यापार गर्ने गरेको र सोही कारण माघेसङ्क्रान्ति निर्माताको रोजाइमा परेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न…





