साहित्यकार महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ माथि पोखरामा परिचर्चा


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०८२ मा प्रकाशित




पोखरामा कथाकार महेश्वर पन्तद्वारा लिखित कथा सङ्ग्रह ‘धर्तीमुनिका तारा’ माथि परिचर्चा गरिएको छ।

लघुकथा प्रतिष्ठान पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा समीक्षक रिता अधिकारी ऋतुले उक्त कृतिमाथि आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै यसलाई डायस्पोरिक आत्म अन्वेषणको एउटा महत्त्वपूर्ण कडीका रूपमा चित्रण गरिन् । समीक्षक ऋतुका अनुसार, ‘धर्तीमुनिका तारा’ मा पराई भूमिमा रहेका नेपालीहरूले भोग्नुपरेको पहिचानको संकट, सांस्कृतिक द्वन्द्व र आन्तरिक छटपटीलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ। उनले भनिन्, “यो सङ्ग्रहका पात्रहरू न पूर्ण रूपमा पुरानो देशका हुन सकेका छन्, न त नयाँ देशमा पूरै समाहित हुन सकेका छन्। उनीहरू सधैँ ‘म को हुँ’ भन्ने प्रश्नको घेराभित्र हराइरहेका देखिन्छन्।”

कथाकारले अमेरिकी समाजमा प्रवासीले भोग्नुपर्ने आर्थिक समस्या, नस्लवादी विभेद, भिसा तथा कानुनी झमेला र श्रम शोषणलाई यथार्थपरक ढङ्गले उतारेको उनको विश्लेषण छ। ‘धर्तीमुनिका तारा’ शीर्षक आफैँमा गहिरो विम्ब रहेको बताउँदै,यसले विदेशमा आशा बोकेर गएका तर त्यहाँको भिड र बाध्यतामा दबिएका नेपालीहरूको अदृश्य पीडालाई संकेत गरेको बताईन् । समीक्षक ऋतुले कृतिको भाषा सरल र सहज रहेको तथा यसले डायस्पोरिक भूगोलमा भड्किरहेका आत्माहरूको खोजी गरेको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले प्रवासमा रहेका नेपालीको नेपाली साहित्यका लागि दिएको योगदान अतुलनिय भएको बताए । उनले भने “प्रवासमा रहेका साहित्यकारहरुले नेपाल र नेपालीको अनुभूति र मनोभावनालाई लेखिहाल्छन् किनभने त्यहाँ देशको सम्झना र अभाव धेरै हुन्छ ।’ उनले विविध कारणले विदेशीएका नेपालीहरुका दोश्रो तथा तेश्रो पुस्ता पछिकाले नेपालप्रतिको मोह छोड्न सक्ने र कुनै जमानामा हाम्रा पुर्खाको देश नेपाल हो भनेर भन्ने दिन आउन नदिनका लागि के गर्न सकिन्छ सोच्ने बेला भएको बताए ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के‍सी, अनेसास गण्डकीका अध्यक्ष देवेन्द्र केसी ‘देवु’, प्रा। डा कुशुमाकर न्यौपाने लगायतले साहित्यकार पन्तको कथा सँग्रह धर्तिमुनिका तारा एक पटक पढ्नै पर्ने पुस्तक भएको बताए । सो अवसरमा केसी र असफल गौतमले श्रष्टा पन्तलाई सम्मान गरेका थिए । अमेरिकामा ३६ वर्ष बिताएका लेखक पन्तले आफ्नो सिर्जनामा सधैँ नेपाल र नेपालीपनलाई नै प्राथमिकता दिएको सुनाए। उनले आफ्नो मौलिकता र लोक संस्कृतिप्रतिको लगावका कारण बाहिरको परिवेशमा भन्दा नेपाली माटोमै आधारित रहेर लेख्न उत्प्रेरित भएको बताए ।

लामो समयदेखि नेपाली साहित्य र संगीतको क्षेत्रमा सक्रिय स्रष्टा पन्तको परिचय माया पौडेलले गराएकी थिईन् । अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएर नेपाली वाङ्मयको श्रीवृद्धिमा लागि परेका पन्तका हालसम्म एक दर्जन कृतिहरू प्रकाशित भइसकेका छन्। उनको चर्चित उपन्यास ‘फुर्लुङ’ ले सन् २०२० मा रत्नश्री पुरस्कार प्राप्त गरेको थियो भने ‘बौलाको डायरी’ का लागि उनलाई अनेसास होमनाथ सुवेदी डायोस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार प्रदान गरिएको छ।

प्रतिष्ठान गण्डकीका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु वास्तोलाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।