लेखनाथमा यातायात व्यवस्था कार्यालय स्थापना, पुवी कास्कीका सेवाग्राहीलाई सहजता


     एभरेस्ट आवाज    
     जेठ १ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिकाको लेखनाथमा यातायात व्यवस्था कार्यालयको स्थापना गरिएको छ ।

लेखनाथको पावरहाउसमा स्थापना गरिएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उद्घाटन पछि आयोनित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लेखनाथमा कार्यालय रहन्छ कि रहदैन भन्ने आशंका अन्त्य भएको बताए । उनले यहाँ स्थापना भएको सरकारी कार्यालय अब अन्यत्र नसारिने पनि स्पष्ट पारे । जनतालाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने सरकारको दायित्व रहेको बताउँदै, उनले कार्यालय स्थापनासँगै नागरिकले भोग्नु परेको असुविधा पनि अन्त्य भएको बताए । मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रका सम्पूर्ण सेवा अब क्रमिक रुपमा लेखनाथबाटै उपलब्ध गराइने जानकारी दिए। उनले ट्राफिक कार्यालयको व्यवस्थापनसमेत सोही क्षेत्रमा गर्ने संकेत पनि गरेका छन् । सेवा विस्तारका लागि जनप्रतिनिधीले दिएको दबाबलाई स्वभाविक रहेको भन्दै उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरे ।

पुर्वमुख्यमन्त्री खगराज अधिकारीले आफूले मुख्यमन्त्री बन्दा गरेको पहिलो निर्णयले साकार रुप लिएको भन्दै खुशी व्यक्त गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस क्षेत्रमा कार्यालय स्थापना भएपछि पूर्वी कास्कीका सेवाग्राहीलाई सहजता पुग्ने बताए ।मेयर आचार्यले नयाँ कार्यालय सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका नागरिकलाई सहज सेवा पुग्ने विश्वास व्यक्त गरे। विद्यालयका रूपमा प्रयोग गरिएको भवनलाई हाल कार्यालयको रुपमा विकास गरिएको बताउँदै उनले वडा नम्बर २६ देखि ३२ सम्मका वडाध्यक्षहरूसँग निरन्तर छलफल पछि संभव भएको जानकारी दिए ।

त्यहाँको नवदुर्गा आधारभूत विद्यालयलाई जनप्रकाश र त्रिभुवन शान्ति विद्यालयमा समायोजन गरि उक्त भवन भएको खाली जग्गामा कार्यालय स्थापना गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।