मेलामा २० हजार किलो तरबुजा विक्रि, चार जना कृषक सम्मानित


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०८३ मा प्रकाशित




पोखराको १३ नम्बर वडामा भएको तरबुजा मेलामा करिब २० हजार किलो तरबुजा विक्रि भएको छ ।

तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि सञ्जाल पोखरा १३ को आयोजना तथा वडा कार्यालयको समन्वयमा आयोजना भएको एक दिने मेलामा दर्शकको उल्लेख्य सहभागिता रहेको र करिब २० हजार किलो तरबुजा विक्रि भएको सञ्जालका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।मेलामा ३२ वटा स्टल राखिएको र सो स्टलबाट विक्रि वितरण गरिएको थियो । मेलामा बिभिन्न वडाका कृषकले आफुले उत्पादन गरेको तरबुजाको प्रदर्शनीसहित विक्रि गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिकाले सबैभन्दा धेरै क्षेत्रफलमा तरबुजा खेती गर्ने चार जना कृषकलाई सम्मान गरेको छ । ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृषक बाघमारा पशुपालन तथा कृषि फर्म पोखरा ३३ तिखेढुंगाका सञ्चालक कृषक रमेश आचार्यलाई नगद १० हजार सहित प्रमाणपत्र, २४ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृष्ति हिल कृषि तथा पशुपंक्षि हल फर्म पोखरा २१ का सञ्चालक ज्ञान बहादुर कार्कीलाई नगद ७ हजार सहित प्रमाणपत्र प्रदान गरेको छ । यस्तै २२ रोपनी क्षेत्रमा तरबुजा खेती गर्ने एस बराल कृषि फर्मका सञ्चालक सुन्दर बराललाई नगद ५ हजार सहित प्रमाणपत्र र २० रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने मणिदिप कृषि फर्म पोखरा १३ का सञ्चालक श्रीधर बराललाई नगद ३ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगदसहित सम्मान प्रदान गरे । मेलाको उद्घाटन गर्दै मेयर आचार्यले यस्ता किसिमका कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्ने बताए ।कृषकहरूको उत्पादनलाई बजारको ग्यारेन्टी गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महानगरप्रतिबद्ध रहेको उनले बताए ।पोखरा १३ का वडाध्यक्ष किरण बरालले दुई वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवा पनि आकर्षित भएको बताए ।उनका अनुसार त्यस क्षेत्रमा २५ जना किसान व्यावसायिकरुपमा तरबुजाखेतीमा सक्रिय छन् । पोखरा महानगर, कृषि महाशाखा प्रमुख मनहर कडरियाले कृषकलाई तरबुजा खेतीमा आकर्षित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको बताए । उनले तरबुजाखेतीका लागि पनि बीउ, मल्चिङ प्लाष्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको जानकारी दिए ।मेलामा गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव प्रेरणा सेढाई भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायतले बजारीकरणमा जोड दिएका थिए ।

मेलामा प्रतिकिलो ५५ रुपैयामा तरबुजा किन्नेको भीड नै लागेको थियो । मेलामा तरबुजा खानेसहितका प्रतियोगिता आयोजना गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।