पहिलोपटक रेडियो नेपालबाट मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै आयोजित कार्यक्रममा पोखराका पत्रकार मीना कुमारी थापा मगर तथा मधुसुधन थापा मगर सम्मानित भएका छन् । दुवै जना सम्मानित पत्रकारले पोखरामा रहेर मगर भाषाको समाचार पढ्ने तथा कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर २१ ठूलीस्वाँरामा आयोजित ‘३२ औँ मगर प्रसारण दिवस, सम्मान तथा अन्तरक्रिया कार्यक्रम’ मा पत्रकारद्वय थापामगरलाई सम्मानपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजकुमारी भुजेलले नेपालका आदिवासी जनजाति संस्कार र संस्कृतिमा धनी भएको स्मरण गराइन् । आदिवासी जनजातिको भाषा र संस्कार तथा संस्कृति हराएमा उनीहरुको अस्तित्व नै खतरामा पर्ने बताइन् । ‘हाम्रो भाषा, रीतिरिवाज, संस्कृति हराएमा हामी आफैँ हराएर जाने अवस्था सिर्जना हुनेछ ।’ कार्यक्रममा उनले भनिन्, ‘त्यसैले नयाँ पुस्तालाई समेत हाम्रो संस्कार र संस्कृतिको विषयमा जानकारी गराउनु आवश्यक छ ।’ भाषा र संस्कार जोगाउनु कुनै एक व्यक्तिको जिम्मेवारी नभएर उक्त समुदायका सम्पूर्ण व्यक्तिको भएको उनको भनाई छ । कार्यक्रममा उनले वडा नम्बर २१ लाई आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
सम्मानित व्यक्तित्व मीना कुमारी थापा मगरले आफूले प्राप्त गरेको यो पुरस्कार सम्मान मात्र नभएर मगर भाषा तथा संस्कृतिको क्षेत्रमा आफूले पु¥याएको योगदानको कदर भएको बताइन् । यो सम्मानले आफ्नो भाषा र संस्कृतिको क्षेत्रमा अझै योगदान पु¥याउनुपर्छ भन्ने प्रोत्साहन मिलेको उनको भनाई थियो । आफ्नो क्षेत्रबाट भाषा र संस्कृति जोगाउन सबैले योगदान पु¥याउनु आजको आवश्यकता भएको उनले कार्यक्रममा जोड दिएकी छिन् ।
पोखरा २१ का वडा सदस्य कृष्णबहादुर राना मगरले मगर समुदायका व्यक्तिहरु आफ्नै समुदायगत कार्यक्रममा समेत सहभागी नहुनु निकै दुखद विषय भएको बताए । मगर समुदाय नेपालको जनगणना अनुसार तेस्रो नम्बरमा रहेको भएपनि कुनै जाति विषेश चाडपर्वमा बिदा नदिदा आफूलाई दुख लागेको बताउँदै यो विषयमा सरकारले ध्यान दिनु आवश्यक रहेकोमा उनले कार्यक्रममा जोड दिएका छन् ।
नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर तथा केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रीष मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष धनबहादुर गुरुङ्ग ‘सुमन’, ठूलीस्वाँरा उज्जवल तथा सामाजिक सेवा आमा समूहकी अध्यक्ष रोशनी राना मगर, ठूलीस्वाँरा टोल विकास समितिका अध्यक्ष नरबहादुर रानामगर लगायतले आआफ्नो भनाई व्यक्त गरेका थिए ।
वि.सं २०५१ साल भदौ १ गते पहिलोपटक रेडियो नेपालबाट मगर भाषामा समाचार प्रसारण भएको थियो । सोही दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीले यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । योभन्दा अगाडि उक्त पुरस्कारबाट पत्रकारद्वय हर्क आलेमगर तथा खेम सारु मगर सम्मानित भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपालको आयोजनामा सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला आज समापन…





