काभ्रेमा जिप दुर्घटना हुँदा, दुईको मृत्यु, तीन जना गम्भीर घाइते


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०८३ मा प्रकाशित




काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा नम्बर नखुलेको बोलेरो जिप सडकबाट दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रबिन विष्टका अनुसार घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङका अनुसार घाइतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्थापन गरिए पनि बाक्लो कुहिरोका कारण अवतरण गर्न नसकेपछि एम्बुलेन्समार्फत कामीडाँडासम्म ल्याउने तयारी गरिएको छ । कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेलाई थप उपचारका लागि लैजाने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।