राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् ।
पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित समारोहमा उनले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताए । सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्नुपर्ने बताए । आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक हुने भएकाले उनीहरूलाई पाठ्यपुस्तकको ज्ञान र परीक्षामा उच्च अङ्क हासिल गर्ने क्षमतामा मात्र सीमित राख्न नहुने उनको भनाई थियो ।
विद्यार्थीलाई समस्या समाधान, नवीन सोच विकास, प्रविधिको सदुपयोग र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्नुुपर्नेमा जोड दिँदै राष्ट्रपतिले यसका लागि सरकार, नीतिनिर्माता र शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै पक्षबीच सहकार्य आवश्यक रहेको स्पष्ट पारे । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संशाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले विद्यालय तहको सिकाइमा देखिएको गम्भीर संकट समाधान गर्दै विद्यार्थीलाई भविष्यका निम्ति सक्षम बनाउनुपर्ने बताएका हुन् ।
थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा स्थापित गर्ने मौका गुमाएकामा चिन्ता व्यक्त गरे । वर्तमान शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्न जरुरी रहेको उनले उल्लेख गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट…







