पृथ्वी राजमार्ग ६ घण्टा बन्द हुने


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८३ मा प्रकाशित




पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज राती ६ घण्टा बन्द हुने भएको छ ।

आज राती ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म राजमार्ग बन्द हुने जनाईएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिईन् । गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मतसम्भार गर्नुपर्ने भन्दै आज राती बन्द गर्न लागिएको हो ।

दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले दसैँको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खडा भएको बताए । “दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्, यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उनले भने ।

दसैँ मनाउनका लागि असोज १७ गतेदेखि २५ गतेसम्म काठमाडौँस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।