पार्टी एकताबद्ध भएर नै जनताको बिचमा जान्छ: एमाले सचिव अधिकारी


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८३ मा प्रकाशित




नेकपा एमालेका सचिव खगराज अधिकारीले पार्टीलाई एकताबद्ध बनाएर जानुको विकल्प नरहेको बताएका छन् ।

कास्कीका पुराना कम्युनिष्ट नेता स्वर्गीय मिनराज पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्न पुरञ्चौरमा आयोजित कार्यक्रममा सचिव अधिकारीले ठुलो र लोकतान्त्रिक पार्टीमा आन्तरिक मतभेद हुनु स्वभाविक भए पनि त्यसलाई पार्टी एकताको पक्षमा लगाउनु पर्नेमा जोड दिए । पछिल्लो समय पार्टीका कार्यकर्तामा निराशा देखिएको उल्लेख गर्दै उनले भने, ‘कार्यकर्ताको बलमै पार्टी बाँचेको छ, निराशालाई चिर्दै पार्टी एक ढिक्का बनाउनुको विकल्प छैन ।’पार्टीप्रति चौतर्फी आक्रमण भईरहेका बेला नेता, कार्यकर्ता संयमित बनेर थप क्रियाशील बन्नुपर्ने उनको भनाई थियो । सचिव अधिकारीले नेपालको कम्युनिष्ट आन्दोलनमा स्वर्गीय पौडेलले पुर्याएको योगदानको चर्चा गरे ।

उनले नेता पौडेल सादगी र अनुशासित नेता भएको उल्लेख गर्दै, शालिन जीवनशैली र उच्च आदर्शलाई सबैले अनुशरण गर्नुपर्ने बताए । कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी,एमालेका केन्द्रीय सदस्य जगत विश्वकर्मा,राजिव पहारी, प्रभा कोईराला, देवका पहारी, एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा, कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेता दामोदर वैरागी,दीपक पौडेल, हुतराज शर्मा, शोभामोहन पौडेल, सुरेन्द्रमानसिंह भण्डारी, लालबहादुर नेपाली, पोखरा महागर कमिटीका अध्यक्ष जीवन आचार्य, वडा कमिटी पोखरा १९ का अध्यक्ष कोमलप्रसाद बास्तोला लगायतले स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, कार्यकर्ताको भावना अनुरुप नै पार्टी संचालन हुनुपर्नेमा जोड दिए ।

उनीहरुले बिभिन्न कालखण्डमा अग्रज नेताहरुको योगदानबाट नै पार्टी जनताको बिचमा लोकप्रिय बनेको बताए । अग्रजहरुको सम्मानले नै पार्टी र नेता सम्मानित हुने उनीहरुको भनाई थियो ।कास्कीमा कम्युनिष्ट पार्टीको संस्थापक मध्येका एक पौडेलको कार्तिक ७ गते ७९ बर्षको उमेरमा निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।