पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः एमाले अध्यक्ष ओली


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८३ मा प्रकाशित




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घ, केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा पार्टी अगाडि बढ्ने बताए । उनले एमाले मजबुत, देशभक्त, लोकतान्त्रिक तथा स्पष्ट दृष्टिकोण र सुदृढ सङ्गठन रहेको पार्टी भएको बताए । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले आगामी ‘दुई कार्यभार र १५ काम’ निर्धारण गरेको जानकारी गराउँदै अध्यक्ष ओलीले आन्दोलन र स्थानीय तह निर्वाचनका ती कार्यभार पूरा गर्ने तयारीमा लाग्न निर्देशन दिए ।

उनले आगामी निर्वाचनमा हामी जित्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने जगका रूपमा रहेको र कयौँ किसान नेताहरूले अमूल्य योगदानका साथै सहादत प्राप्त गरेको अध्यक्ष ओलीले स्मरण गरे । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङ्गालले महासङ्घ ७३ जिल्ला, ५३९ पालिकाका एक हजार ३६५ वडामा क्रियाशील रहेको रहेको जानकारी गराए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।