पोखरा, १ मंसिर । तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । सामान्य आँखाको समस्याको समयमै पहिचान र उपचार हुन नसक्दा दृष्टि गुमाउने जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले स्थानीयस्तरमै आँखा उपचार सेवा सुरु गरेको हो ।
व्यास नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको केन्द्र नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो ।
केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले उपचार केन्द्र सञ्चालनमा आएसँगै व्यास नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकलाई आँखा स्वास्थ्य सेवा लिन सहज हुने बताए । केन्द्रबाट आँखा परीक्षण, चस्माको पावर जाँच, औषधि तथा आवश्यक परामर्श सेवा उपलब्ध हुने उनले जानकारी दिए ।
सामान्य आँखाको समस्या हुँदा पनि उपचारका लागि टाढाका अस्पताल पुग्नुपर्ने बाध्यता, समय र आर्थिक खर्चका कारण धेरैले उपचारमा ढिलाइ गर्ने गरेको उल्लेख गर्दै उनले स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा विशेषगरी ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न तथा नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने नागरिक लाभान्वित हुने बताए ।
नेपाल नेत्रज्योति संघ गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीले आँखासम्बन्धी समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टि गुम्ने जोखिम न्यूनीकरण गर्न सकिने बताए । उपचार केन्द्रले सेवा प्रदान गर्ने मात्र नभई नागरिकको दृष्टि संरक्षण र जीवनस्तर सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरले स्थानीय तह, नेत्रज्योति संघ र हिमालय आँखा अस्पतालबीचको सहकार्यमा सुरु भएको सेवाले आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणको पहुँचमा उपचार सेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले नगरपालिकाको सिफारिसमा समाजका विपन्न तथा असहाय नागरिकको निःशुल्क शल्यक्रियासहित आवश्यक सम्पूर्ण उपचार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरै, राष्ट्रिय स्वतन्त्र पार्टीका चुडामणि दाहाल, नेपाली कांग्रेसका तुलसीराम सापकोटा, नेकपा एमालेका तुलसी पाण्डे, नेकपाका गोपाल सुर्खाली तथा हिमालय आँखा अस्पतालका व्यवस्थापक कुमार गर्बुजालगायतले उपचार केन्द्रको निरन्तर सञ्चालन र प्रभावकारी सेवाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १ मंसिर । तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको…







