यातायात व्यवसायीलाई मुख्यमन्त्री पाण्डेले भने : मैले तपाईंहरुलाई राईड सेयरिङको बारेमा बुझाउन सकिन


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २४

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवसायीलाई आफूले राईड सेयरिङबारे बुझाउन नसकेको भन्दै व्यंग्य गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै आफूले राईड सेयरिङलाई वैधानिक बनाउन कोशिष गर्दा व्यवसायीले नबुझेर विरोध गरेको बताए । राईड सेयरिङबारे तपाईंहरुले बुझ्नु भएन,उनले भने,‘अझ भनौं मैले नै तपाईंहरुलाई बुझाउन सकिनँ ।’ तर राईड सेयरिङ यात्रु र व्यवसायी दुबैको हितमा रहेको उनले दाबी गरे । ढिलो चाँडो राईड सेयरिङमा नगई सुखै नहुने उनले बताए । यसमा जानु भनेको प्रविधीमैत्री हुनु हो,‘ढिलो चाँडो तपाईंहरु यसमा जानैपर्छ ।’

मुख्यमन्त्री पाण्डेले व्यवसायीले विरोध गरे पनि राईड सेयरिङ अवैध रुपमा भए पनि चलिरहेको बताए । मैले यसलाई रेगुलेट गर्ने कोशिष मात्र गरेको हुँ,उनले अगाडि थपे,‘अवैध रुपमा चलिरहेका राईड सेयरिङ एप्समार्फत चल्ने सवारी साधनलाई वैध बनाउन मात्र खोजेको हुँ । यसमा जसरी तपाईंहरुले बीमा गर्नुहुन्छ, सरकारलाई राजस्व तिर्नुहुन्छ, अनि यात्रुको सुरक्षा जसरी गर्नु भएको छ । राईड सेयरिङले पनि त्यसरी नै गर्छ, गर्नुपर्छ ।’

मुख्यमन्त्री पाण्डेले यातायात व्यवसायीलाई यातायात क्षेत्रले राष्ट्र र जनताबाट सम्मान किन पाईरहेको छैन ? भन्दै प्रश्न गरे । यातायातमा दिईने सेवाको अवस्था, जनताले पाउने सन्तुष्टि र यातायात क्षेत्रमा काम गर्नेहरुको व्यवहारले गर्दा राष्ट्र र जनताबाट व्यवसायीले सम्मान नपाइरहेको उनले तर्क गरे । त्यसैले सरकार, व्यवसायी र मजदूरबीचको सामाञ्जस्यतामा यातायात क्षेत्रलाई मर्यादित, व्यवसायीक र सुरक्षित बनाउनुपर्नेमा उनले जोड दिए ।

महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले सरकार र व्यवसायीबीच संवादमार्फत यातायात क्षेत्रलाई सुदृढ बनाउन सकिने बताए । त्यसका लागि प्रदेश सरकारलाई वातावरण बनाउन उनले आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष बिजयबहादुर स्वाँरले व्यवसायी कहिल्यै पनि प्रविधीको विरोधी नभएको बताए । बरु अवैध रुपमा सञ्चालित राईडसेयरिङलाई मान्यता दिने निर्णयको विरोधमा भने उभिनुपरेको उनको भनाई थियो । उनले यातायातको क्षेत्रमा १३ खर्ब लगानी भए पनि राज्यको अस्थिर नीतिले जोखिममा परेको उल्लेख गरे ।

बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले सार्वजनिक यातायात सम्बन्धि दीर्घकालीन ऐन, नीति नबन्दा व्यवसाय जोखिममा परेको गुनासो गरे ।

महासंघका ट्याक्सी विभाग प्रमुख प्रकाशमणी तिवारीले पोखरेली ट्याक्सी सेवा प्रालिका सबै ट्याक्सी प्रविधिमैत्री भइसकेको बताए ।

मजदुर नेता सूर्यभक्त पौडेलले यातायात क्षेत्रमा मजदुरको अवस्था अहिले पनि नाजुक रहेको भन्दै उनीहरुको रोजगारी र सुरक्षाको ज्ञारेन्टी गरिनुपर्ने बताए ।

महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव योगेन्द्रबहादुर केसीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।